एमाले कार्यदलमा विवाद मिल्यो, ओली–नेपालबीच कुरा मिलेन : विष्णु रिजाल


July 15, 2021 3:15 pm

काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टीका आन्तरिक विवादका विषय मिलाउन गठित कार्यदलमा कुरा मिलेको बताएका छन् ।

उनले पाँच वटा बुँदामा एमालेभित्रको विवाद मिलाउन कार्यदलका सदस्यबीच आन्तरिक सहमति भएको बताएका हुन् । तर, मुख्य नेताबीच कुरा नमिलेको उनको भनाइ छ ।

“अन्ततः एमालेमा एकता हुन्छ । तर, अहिलेको अवस्था हेर्दा अंग्रेजीको ६ अंक जस्तो देखिन्छः एकातिरबाट हेर्दा कार्यदल स्तरमा विषयवस्तुमा मिल्न बाँकी केही देखिँदैन, ५ बुँदामा सबै समेटिएको छ, उठेका सबै विषय सम्बोधन भएका छन्” उनले ट्विटरमा लेखेका छन्,“अर्कोतिरबाट हेर्दा प्रमुख नेताहरुका बीचमा खास कुरा मिलेकै छैन ।”

एमालेमा एकताका लागि युवा नेताहरु तयार भएपनि शीर्ष नेतामा समस्या देखिएको उनले बताएका छन् ।

शुक्रबार बस्ने बैठकबाट सबै आन्तरिक विवादका विषय टुंगिने कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङको भनाइ छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच विवाद मिलाउन ठोस सहमति हुन सकेको छैन ।

हाम्रो सम्बाद: एमाले कार्यदलमा विवाद मिल्यो, ओली–नेपालबीच कुरा मिलेन : विष्णु रिजाल