विष्णु रिजालको आरोप- सत्तामा जानसाथ कांग्रेसको प्रहार एमालेमाथि (भिडियो)


August 20, 2021 4:14 pm

सुर्खेत । नेकपा एमालेका युवा नेता विष्णु रिजालले नेपाली कांग्रेसले हिजैदेखि संसदीय व्यवस्थालाई विकृत बनाउने काम गरेको टिप्पणी गरेका छन् ।

नेकपा एमाले दैलेख-सुर्खेत सम्पर्क कार्यालयको उद्घाटनमा बोल्दै रिजालले सांसदहरूको नाममा सुत्केरी बील बनाउने, सांसदहरू किनबेच गरेर शेरबहादुर देउवाले कीर्तिमान राखेको आरोप लगाए । ‘शेरबहादुर देउवाले आज पाँचौपटक प्रधानमन्त्री हुँदा पनि त्यही विकृतिलाई निरन्तरता दिँदै हुनुहुन्छ । हिजो र आज कांग्रेस सत्तामा हुँदा एमालेमाथि प्रहार गरेको छ ।’

एमालेको देशव्यापी प्रतिस्पर्धी कांग्रेस भएको रिजालले जिकिर गरे । ‘सामाजिक सञ्जालमा एमाले विभाजनको प्रशंसा विश्लेषण गर्नुभयो भने यो कसको पक्ष र विपक्षमा छ देख्न सकिन्छ’, उनले भने, ‘पार्टी विभाजनको पक्षमा रहेका नेताहरू हिजो मन्त्री, प्रधानमन्त्रीलगायतका महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरू हुनुहुन्छ । गाउँगाउँमा हामीले बुझाउनुपर्छ । यो संकटको बेला तपाईंहरू सबैको योगदानले पार्टीलाई जनताको प्रिय पार्टी बनाउन भूमिका खेल्नेछ ।’

कार्यक्रममा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेल, प्रदेश कमिटी सचिव धर्मराज रेग्मी, जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा, दिनेश दाहाल, हिमप्रसाद शर्मालगायत सहभागी थिए ।

रिजाल एमाले दैलेखका सह-इन्चार्जसमेत हुन् ।

नेपाल प्रेस: विष्णु रिजालको आरोप- सत्तामा जानसाथ कांग्रेसको प्रहार एमालेमाथि (भिडियो)