परिचय

मेरो जन्म २०३६ साउन ३१ गते दैलेख जिल्लाको भैरवी गाउँपालिका (साविक भैरीकालिकाथुम गाउँ पञ्चायत) वडा नम्बर ५, डाँगरगाउँमा भएको हो । बुबा धनञ्जय रिजालको वात्सल्यबाट तीन बर्षकै उमेर (२०३९) मा बञ्चित हुनुपरेको अभाव आमा डिल्लीसरा रिजालले महसुस हुन नदिएकोमा ०७४ साउन ४ गते उहाँले पनि छाडेर जाँदा आजसम्मको जीवनमा सबभन्दा अँध्यारो क्षणका रुपमा रहेको छ ।

भवन नै नबनिसकेको बुढाना स्कुलमा अक्षर चिनेर औपचारिक शिक्षा सुरु भए पनि घरमै दाजु गणेशप्रसाद रिजालले कखरा र एबीसीडी सँगसँगै सिकाएका कारण विद्यालय गएकै दिनदेखि ‘जान्ने’ मा भएको गणना गौरी नेराप्रावि, बालेकाँडाबाट पाँच कक्षा उत्तीर्ण गर्दादेखि हिमालय मावि, डाँडीमाडीबाट एसएलसी उत्तीर्ण गर्दासम्म कायमै रह्यो । औपचारिक रुपमा दुई कक्षाबाट पढ्न सुरु गरेदेखि विद्यालयमा कहिल्यै दोस्रो हुनु परेन, पहिलो स्थान सुरक्षित भइरह्यो ।

एसएलसी उत्तीर्ण गरेर नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा वायोलोजी विषय लिएर आइएस्सी अध्ययन गर्न थाल्दा विज्ञान पढ्ने आम विद्यार्थी जस्तै दिमागमा डाक्टरकै कल्पना थियो । तर, घरमा दाइले ल्याएका पत्रपत्रिका पढ्दा, दिदीको घरमा भएको रेडियो सुन्दा, वरपर हुने कार्यक्रममा नछुटाई सहभागी हुँदा र जिल्लास्तरका वादविवाद–बक्तृत्वकलामा भाग लिँदाका रुचि र अनुभवहरुले राजनीतिबाट टाढा जान दिएन । काठमाडौँस्थित रत्नराज्य क्याम्पसबाट अंग्रेजीमा स्नातक अनि कान्तिपुर सिटी कलेजबाट २०६७ मा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण गर्दासम्म नियमित विद्यार्थीभन्दा बढी नियमित राजनीतिक कार्यकर्ताकै रुपमा क्रियाशील भए ।

हिमालय मावि डाँडीमाडीमा छ कक्षामा पढ्दा विद्यार्थी संगठनको प्रारम्भिक कमिटी अध्यक्ष भएकै बर्ष दैलेखको काँडाचौरमा आयोजित जिल्ला सम्मेलनबाट जिल्ला सचिव चयन भएँ भने २०५३ मा नौ कक्षामा पढ्दा डाँडीमाडीमा आयोजित पााचौँ जिल्ला सम्मेलनबाट अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेँ । अखिलको भेरी अञ्चल कमिटी सहसचिव, सचिव, उपाध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्यका रुपमा साथीहरुसँग घुलमिल हुने अवसरले राजनीतितर्फको यात्रालाई छोड्न नसकिने गरी अझ प्रगाढ बनाइदियो ।


नेकपा (एमाले) को केन्द्रीय प्रचार विभाग सदस्यका रुपमा दश बर्ष (०६२–७१), सचिवका रुपमा तीन बर्ष (०७२–७५), राष्ट्रिय परिषद् सदस्यका रुपमा आठ बर्ष (०६७–७५) काम गर्नुका साथै ०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि करिब तीन बर्ष (०७५ जेठ ३–०७७ फागुन २३) केन्द्रीय कमिटी सदस्य तथा विदेश मामिला विभाग उपप्रमुखका रुपमा काम गरेँ । अहिले नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यका रुपमा क्रियाशील छु र कार्यविभाजन अनुरुप विदेश मामिला विभाग उपप्रमुख र दैलेख जिल्लाको सह–इन्चार्ज छु ।

२०६५ मा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ राष्ट्रिय महाधिवेशन र २०७१ मा काठमाडौँमा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी भएर पार्टीको नीति र नेतृत्व निर्माण प्रक्रियामा सहभागी भएको छु ।

२०६६ मा नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा २० महिना प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा जिम्मेवारी निर्वाह गरेको थिएँ ।

सानै उमेरदेखि पढ्न–लेख्नमा रुचि भएका कारण पत्रकारितासाग आकर्षित भएको थिएँ । यसक्रममा ‘बुधबार’ साप्ताहिकको आठ बर्ष (०६४–७२) सम्म सम्पादक भएँ भने नेकपा (एमाले) को मुखपत्र ‘नवयुग’ को कार्यकारी सम्पादक र सम्पादक मण्डल सदस्यका रुपमा रुपमा दश बर्ष काम गरेको छु ।

आजसम्म दुईवटा पुस्तक लेख्नुका साथै विभिन्न विषयमा एघारवटा पुस्तक र छवटा म्यागजिन सम्पादन गरेको छु ।
राजकीय र पार्टी कामका सिलसिलामा हालसम्म २० वटा मुलुकको भ्रमण गरेको छु ।