सांसदलाई विष्णु रिजालको प्रश्नः दसैं खर्च थाप्न अलिकति लाज लाग्दैन?


October 18, 2020 4:52 pm

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले कोरोना महामारीका कारण नागरिक जीवन-मरणको संघर्षमा रहेका बेला दसैं खर्च बाँड्ने सरकार तथा थाप्ने सांसदलाई अलिकति लाज लागेन भनेर प्रश्न गरेका छन्।  

नेता रिजालले आइतबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितले उपचार नपाइरहेको तथा देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला दसैं खर्च दिनु तथा लिनु अस्वाभाविक भएको टिप्पणी गरेका हुन्।  

‘सरकारले नागरिकलाई दसैं मनाउनकै लागि नहिँड्नुस् भनिरहेको छ। अनि सांसदहरूलाई दसैं खर्च उपलब्ध गराइरहेको छ,’ रिजालले ट्विटरमा लेखेका छन्, ‘जनताले भेन्टिलेटर र औषधि नपाइरहेको, स्वास्थ्यकर्मीले सास फेर्ने फुर्सद नपाइरहेको र अर्थतन्त्र ओरालो लागिरहेका बेला जनप्रतिनिधिहरूले अलिकति लोकलाज र जिम्मेवारी महसुस गर्नुपर्दैन?’

नागरिक दैनिक: सांसदलाई विष्णु रिजालको प्रश्नः दसैं खर्च थाप्न अलिकति लाज लाग्दैन?