संसदमा देउवाको बहुमत पुग्दैन : विष्णु रिजाल


July 12, 2021 3:45 pm

काठमाडौं : एमाले नेता विष्णु रिजालले संसदमा कांग्रेस सभापति शेरबहादुर देउवाको बहुमत नपुग्ने दाबी गरेका छन्। सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि उनले यस्तो बताएका हुन्।

सरकार आउने-जाने नियमित कुरा भएकाले एमालेका लागि मुख्य कुरा पार्टी एकता भएको स्पष्ट पारेका छन्। सरकार आउने-जाने नियमित कुरा हो । ‘हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो ।’ रिजालले लेखेका छन्,‘हिजो भएको सहमति अनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन ।’

सदनमा एमाले एक नम्बर र निर्णायक भएको धारणा राखेका छन्। सदनमा र चुनावमा पनि एमाले एक नम्बर हुने दाबी गरेका छन्। अब चुनावको विकल्प नभएकाले चुनावमा पनि एमाले एक नम्बर हुने बताएका छन्। उनले भनेका छन्,‘एमाले नै निर्णायक रहन्छ । सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर ! किनकि, चुनावको विकल्प छैन।’

अत्यन्त तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका एमालेका दुई खेमा एकता कार्यदल र मध्यमार्गी केही नेताको लामो प्रयासमा एमाले फुट्नबाट जोगिएको छ। कटुतापूर्ण तथा निषेधात्मक बन्दै गएका अन्तरविरोधहरूलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्न दुवै पक्ष सहमत भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षले आइतबार राति मेलमिलापको दस्तावेज जारी गरेका छन्। उक्त ‘नेकपा (एमाले) मा विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’मा दुवै पक्षका कतिपय अडानलाई सम्बोधन गरिएको छ।

प्रतिनिधिसभाका १४६ जना सांसदले हस्ताक्षरसहित देउवालाई प्रधानमन्‍त्री नियुक्तिका लागि परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। देउवा पक्षमा बहुमत देखिएकोले देउवालाई प्रधानमन्‍त्री नियुक्त गर्न अदालतले आदेश दिएको हो। अब संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्‍त्रीमा नियुक्त हुनेछन्। सर्वोच्चको परमादेशअनुसार मंगलबार नै देउवालाई राष्ट्रपतिले प्रधानमन्‍त्रीमा नियुक्त गर्नुपर्नेछ। सात दिनपछि सुरु हुने संसदको अधिवेशनमा देउवाले विश्‍वासको मत लिनेछन्।

विश्‍वासको मत पाए बाँकी अवधि देउवाले निर्वाध रुपमा सरकार चलाउनेछन् र उनकै नेतृत्वमा चुनाव हुनेछ। विश्‍वासको मत नपाए देउवालाई चुनावमा जाने स्वभाविक हक हुनेछ र देउवाकै नेतृत्वमा चुनाव सम्पन्‍न हुनेछ।

अन्नपुर्ण पोस्ट: संसदमा देउवाको बहुमत पुग्दैन : विष्णु रिजाल