विष्णु रिजालको टिप्पणी : ०५४मा एमाले फुटाउन लागेको कांग्रेस ०५९मा फुटेको थियो


May 12, 2021 9:54 am

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) का नेता विष्णु रिजालले जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने याद गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले यस्तो बताएका हुन् ।

उनले भनेका छन्–‘कांग्रेस र माओवादीलाई पार्टीगत आधारमा १३६ सांसद जुटाएर नयॉ सरकार बनाउने सुविधा छ।तर, जसपा फुटाएर वा एमालेका सांसदलाई राजीनामा गर्न लगाएर सरकार बनाउन खोजेमा भविष्यमा आफ्नो पार्टीको हालत पनि त्यही हुन्छ भन्ने याद हुनुपर्ने हो।०५४मा एमाले फुटाउन लागेको कांग्रेस ०५९मा फुटेको थियो।’

उनले यस्तो लेखेका छन्-

यसै पनि शेरबहादुर देउवाका नाममा सत्ताकै लागि भक्तबहादुर रोकायलाई गायब पारेको, राप्रपाका सांसदलाई बैंकक पठाएको, सांसदहरू किनेको, इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएको, सांसदलाई पजेरो सुविधा दिएको र पार्टीले सरकार छाड्न निर्देशन दिंदा पार्टी नै छाडिदिएको जस्ता कीर्तिमान कायम छन्।

अवाञ्छित तरिकाले जोगाएको सरकार ०५३मा आफ्नै पार्टीका २सांसद अनुपस्थित भएर अवाञ्छित तरिकाले नै ढालेको सम्झना हुनुपर्ने हो।४ प्रम भइसक्नुभएका र ८दशक पुग्न लाग्नुभएका देउवाले प्रजातन्त्रलाई बद्नाम बनाउने त्यस कालखण्डलाई फेरि पछ्याउन खोज्दा लोकतन्त्र र कांग्रेसलाई कति फाइदा पुग्ला?

रिपोर्टस नेपाल: विष्णु रिजालको टिप्पणी : ०५४मा एमाले फुटाउन लागेको कांग्रेस ०५९मा फुटेको थियो