‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै शिर झुकेको छ’ : विष्णु रिजाल


July 14, 2020 2:04 pm


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी ओलीले पदमा बसेर बेतुक र असान्दर्भिक कुरा बोलेको बताएका छन् ।

पार्टीका विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले ट्विट गर्दै ओलीका अभिव्यक्तिले देशकै शिर झुकेको बताएका हुन् ।

‘पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शिर झुक्छ । अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो’, उनले लेखेका छन् ।

कूटनीतिक तरिका अपनाएर भारतसँग गुमेको भूमि फिर्ता गर्नुपर्ने वेला ओलीले विरोध र उत्तेजना फैलाउने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण र रहस्यमय भनेका छन् ।

रिजाल लेख्छन्, ‘फुकी फुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन रहस्यमय छ ।’

प्रधानमन्त्री ओलीले सोमबार अयोध्या नेपालमै पर्ने र राम नेपाली रहेको अभिव्यक्ति दिएका थिए । त्यसको भारतमा पनि विरोध भइरहेको छ ।

रिजाल वरिष्ठ नेता माधव नेपाल निकटका हुन् । ओलीको अभिव्यक्ति विरुद्ध बोल्ने नेकपाका थोरै नेताभित्र उनी परेका छन् । पार्टीका अधिकांश सदस्य कि यसबारे मौन बसेका छन् त कतिले ओलीको समर्थन गरेका छन् ।

फरकधार: ‘प्रधानमन्त्रीको अभिव्यक्तिले देशकै शिर झुकेको छ’ : विष्णु रिजाल