नेकपामा ओलीलाई मान्नेबाहेक अरुको अस्तित्व कहाँ छ? : विष्णु रिजाल [अन्तर्वार्ता]


May 5, 2020 9:25 am

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीचको विवाद तत्कालका लागि मिलेजस्तो देखिएको छ। तर भित्री रुपमा अझै समस्या सुल्झिन बाँकी छ। सचिवालयको विवाद स्थायी कमिटीमा सरेजस्तो देखिएको छ। शीर्ष नेता माधव नेपाल अझै असहमत छन्। प्रधानमन्त्री केपी ओलीको कार्यशैली सुधार हुनुपर्ने र ‘एक नेता एक जिम्मेवारी’ कार्यान्वयन हुनुपर्ने बताइरहेका छन्। यही सन्दर्भमा नेपालनिकट नेता नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालसँग डिबी खड्काले गरेको कुराकानी:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद शनिबारदेखि मिलेको देखिएको छ। तर, सचिवालय सदस्य माधव नेपाल शनिबारको सहमतिप्रति सन्तुष्ट हुनुहुन्न भन्ने छ। उहाँ असन्तुष्ट भएको सत्य हो?

पार्टीमा केही समस्या देखा परेको थियो। नेतृत्वबीचको बेमेल सार्वजनिक रुपमै प्रकट भएको थियो। विवाद उत्पन्न हुनुमा सरकारले हठात् ढंगले बैशाख ८ मा ल्याएको दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश कारण थियो। पार्टी पंक्तिलाई नै तरंगित गरेको थियो। हठात् किन अध्यादेश आयो? उद्देश्य के हो? यसले पार्टीलाई कहाँ पुर्‍याउँछ? संविधानको आधारवस्तुलाई के कस्तो परिवर्तन गर्छ?लगायतका विषय पार्टीभित्र आएका थिए।

यसै विषयलाई लिएर २० जना स्थायी समिति सदस्यले बैठकको माग गर्नुभएको थियो। त्यसकै वरपर रहेर सरकारकै विषयमा समेत केही प्रश्न उठे। नेतृत्व तहको विवाद, अविश्वास र बेमेलले गर्दा सचिवालय बैठक बस्यो। सचिवालयको बैठकले पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने, सरकारको कार्यलाई प्रभावकारी बनाउने गरेको छ। पार्टीलाइ संस्थागत र विधिसंगत ढंगले सञ्चालन गर्ने सहमति भएको छ। निर्णय स्वागतयोग्य छ। पार्टीभित्रका सबै प्रकारका भेदभावको अन्त्य गर्ने सचिवालयको बैठकले व्यक्त गरेको छ। सर्वसहमतिमा निर्णय भएको छ। असहमति कुनै नेताको पनि छैन।

माधव नेपालको सन्दर्भमा उहाँले विगतमा उठाएका कुराहरु सार्वजनिक पनि भएका छन्। प्रतिबद्धता कार्यान्वयन हुने तर व्यवहारमा कार्यान्वयन नहुने स्थिति थियो। निर्णय हुने तर कार्यान्वयन नहुने अवस्था हुनु भएन भन्ने उहाँको कुरा हो। त्यस्तो अवस्था नदोहोरिन उहाँले अहिले शंकाको लाभ दिनुभएको छ। पूर्ण रुपमा विश्वस्त त्यस बेला हुन सकिन्छ, जब व्यवहारमा यस सहमतिलाई हेर्न सकिन्छ। यसको अर्थ नेपाल असन्तुष्ट भएको वा फरक मत रहेको भन्ने होइन।

नेता नेपालका सार्वजनिक अभिव्यक्तिमा व्यक्तिगत चोचोमोचो मानिँदैन भन्दै आउनुभएको छ। यसको अर्थ त असन्तुष्ट नै हो नि?

हामीले कहाँ टेक्ने भन्ने नै ठूलो कुरा हो। हामीले विधान, नियम, पद्धतिमा टेक्ने कि व्यक्तिको निर्णय क्षमता, देवत्वकरण र असाधारण क्षमतामा विश्वास गर्ने? कम्युनिस्ट पार्टी सामूहिक नेतृत्वमा चल्नुपर्छ। पार्टी चल्ने पार्टीका औपचारिक निर्णयबाट हो। सचिवालय छ, त्यसमाथि स्थायी समिति र केन्द्रीय समिति छ। पार्टी नेतृत्वमै भएकाहरु यी निकायमा पनि हुनुहन्छ। पार्टीमा छलफल हुनु उहाँहरुलाई बाहिर राखेर गरिने छलफल होइन।

सामूहिक बल र विवेकबाट एकता प्राप्त हुन्छ। व्यक्ति विशेषको अलौकिक शक्ति र देवत्वकरणबाट पार्टी सञ्चालन हुन सक्दैन। विधानले त्यस्तो कुरामा विश्वास गर्दैन, चिन्दैन पनि। आधारभूत सिद्धान्तले पनि त्यस कुरालाई मान्दैन। व्यक्ति व्यक्तिबीच हुने लेनदेन पार्टीको संस्थागत निर्णय होइन। त्यसै कुरालाई नेपालले स्मरण गराउनुभएको मात्रै हो।

अध्यादेश एकलौटी रुपमा ल्याइयो, पार्टीमा छलफल गरिएन भनी विवाद सुरु भएको थियो। अन्त्य कसरी भयो भने भागबण्डाको आश्वासनपछि सकिएको छ। शीर्ष नेताबीच पदका लागि विवाद रहेछ भन्ने सन्देश गयो नि?

सबै नेतालाई एउटै डालोमा हाल्नुहुँदैन। नेता नेपाललाई अध्यक्षका रुपमा प्रस्ताव आएको थियो। दुवै अध्यक्षलाई भेटेर उहाँले भन्नु भएको छ‚ ‘म पदको आकांक्षी होइन। अध्यक्ष पद चाहिँदैन। त्यो पदका लागि अनुपयुक्त व्यक्ति पनि उहाँ होइन। सबै नेता पदका लागि आशक्त हुन्छन् भन्ने आरोपलाई उहाँले चिर्नुभएको छ।

माधव नेपालका हकमा उहाँले पद, प्रतिष्ठा उठाएकै होइन। विधि, पद्धति, मापदण्ड उठाउनुभएको छ, त्यो उहाँकै हकमा पनि लागू हुन्छ। एक व्यक्ति एक पदको विधिको माग गर्नुभएको छ। त्यतिबेला प्रश्न गरौं जतिबेला उहाँले राखेको प्रस्ताव कार्यान्वयन भए धेरै जिम्मेवारी लिने उहाँकै पक्षका भए भने। दोहोरो लाभको पद लिए भने त्यो बेला प्रश्न गर्‍यौं। अहिले प्रश्न उठाउन सकिन्न।

पार्टीमा यसो पनि भन्ने गरिएको रहेछ, १५ वर्ष पार्टीमा केपी ओलीलाई तत्कालीन महासचिवले गरेको व्यवहारको बदला अहिलेका अध्यक्ष ओलीले लिइरहनुभएको छ भन्छन्?

यो पनि अतिरञ्जित हो। बदला लिएजस्तो लाग्दैन। नेतृत्वमा विश्वास भएकाले त्यो तर्कमा मैले विश्वास गर्दिन। नेताहरु बदलामा लाग्छन् भन्ने कुरामा विश्वास लाग्दैन।

तर, कतिपय व्यवहारले पूर्वाग्रह हो कि भन्ने देखिन्छ। हालैको एउटा उदाहरण दिन चाहन्छु, भूमिसम्बन्धि एक आयोग गठन गरिएको छ। त्यो आयोग गठन गर्ने समय पार्टीमा सामान्य छलफल पनि भएन। पार्टीभित्र विभिन्न समूह छन्, तिनीहरुले आफ्नो अधिकार खोज्ने कहाँ? एकपक्षीय रुपमा कार्य भएपछि पार्टीमा दुश्मनी बढाउँछ। सामेलीको कुरा गरिरहेको बेला पार्टीभित्रका समूहको ख्याल गर्न पर्दैन र? त्यसो हो भने नेकपामा ओलीलाई मान्ने बाहेक अरुको अस्तित्व कहाँ छ? सबै नेता कार्यकर्ताले आफ्नो सरकार भएको महशुस गर्नपर्‍यो।

विवाद सुरु हुँदै गर्दा पार्टीमा विधि पद्धति, सरकारका कार्य, प्रदेश प्रमुखका कुराहरु उठेका थिए। तर, अन्त्यमा ती विषयको सम्बोधन नै नगरी प्रधानमन्त्री हाबी हुनेगरी सहमति भएको त हो नि?

पार्टी अध्यक्ष भएकाले उहाँका कुराहरु सबैभन्दा बढी लागू हुनु स्वभाविक हो। कार्यकारी प्रमुखको हिसाबले केपी ओलीले भनेका कुरा कम र अरुले भनेका कुरा बढी लागू हुन्न। हामी सबै यसलाई बुझ्छौं।

साथै के पनि हो भने केपी ओली आएकै दिनदेखि पार्टी बनेको पनि होइन। सबै नेताहरु पार्टी निर्माणमा सहभागी हुनुहुन्छ। केपी ओली जेल बस्दा त्योभन्दा कठोर अवस्थामा अरु नेताहरुले संगठनका लागि कार्य गर्नुभएको छ। मोर्चा, संगठन, विचार सम्हाल्दै आउनेहरु हुनुहुन्छ। शून्यबाट सुरु गरेर यहाँसम्म पार्टीलाई विभिन्न कालखण्डमा काम गर्दै नेताहरुले ल्याउनुभएको छ। प्रत्येकका योगदान आफ्नो हकमा महत्वपूर्ण छन्।

पार्टीभित्र समस्या आयो भने सत्रुतापूर्ण रुपमा हेर्न हुँदैन। अन्तरविरोध शत्रुता र मित्रतापूर्ण हुन्छ। अन्तरविरोधहरु सहमतिमा गएर टुंगिन्छन्। पार्टीभित्रको प्रवृत्ति एकत्वमा गएर टुगिंन्छन्। द्वन्द्वान्त्मक भौतिकवादमा विश्वास गर्ने भएकाले विवादहरु आउने/जाने निरन्तर भइरहन्छन्। अहिलेको समस्या समाधान भएपनि यो जुनीभरका लागि होइन। नयाँ चरणमा गएपछि नयाँ प्रकारका अन्तरविरोधहरु आउँछन्। पैदा भएका अन्तरविरोध नयाँ तरिकाले सम्बोधन हुन्छ। ५/७ महिनापछि नयाँ समस्या पनि आउनसक्छ। सर्वकालिक एकता, घाम-जून रहेसम्म विवाद नआउने गरी बुझियो भने पनि अतिवाद हुन्छ।

अन्तरसंघर्षलाई पार्टीलाई जिवन्त बनाउने तत्वका रुपमा कम्युनिस्ट पार्टीमा लिने गरिन्छ। अहिले जे भयो, पार्टी फुटको तहसम्म कार्यकर्तालाई उद्वेलित बनायो। जे सहमति भयो, त्यो अल्पकालीन छ। कार्यकर्तालाई ढुक्क बनाउने दीर्घकालीन केही त चाहिएला नि?

त्यो भनेको पार्टी, सिद्धान्त, कार्यनीति कार्यदिशा नै हो। त्यो बाहेकका कुरामा सहमति गरेर कार्यकर्तालाई आश्वस्त बनाउन सकिँदैन। एकता र विवाद सर्वकालिक होइन। मूल प्रवृति भनेकै कार्यनीति र कार्यदिशा हो। नेकपा फौजी पार्टी होइन। रुस वा चिनकोजस्तो कम्युनिस्ट पार्टी पनि होइन। जहाँ एउटा व्यक्ति सत्तामा आएपछि बाँकी सबै किनारा लाग्नुपर्ने अवस्था छ। लोकतान्त्रिक अभ्यास र पद्धतिमा विश्वास गर्ने पार्टी हो।

पार्टीभित्र मतान्तर राख्ने अधिकार छ। विवादलाई संगठात्मक संरचनाभित्र ढालेर कसरी लैजान्छौं भन्ने कुरा हो। त्यसका लागि कमिटीका बैठकहरु नियमित हुनुपर्‍यो। पार्टीलाई अधिवेशनतिर फर्काउनपर्‍यो। पार्टीमा सबै अहिले मनोनित अवस्थामा छौं। अर्थात्, जनवाद मुर्छित अवस्थामा छ। जनवादी केन्द्रीयताको अभ्यासले जनवाद माथि उभ्याउँछ। जनवाद भनेको कार्यकर्ताबाट निर्वाचित नेतृत्व हो। अहिले नेतृत्वबाट निर्वाचित हुने कार्यकर्ता भएका छन्। यसलाई जति छिटो उल्टाउँछौं, त्यति छिटो पार्टीलाई बलियो एकतामा रुपान्तरण गर्न सक्छौं।

पार्टीमा विवाद हुनु भनेको विचारलाई प्रधान राखेर हुने हो। विचारबाट निर्देशित हुनुपर्ने पनि हो। पार्टीका सबै गुटमा व्यक्ति हाबी छन्। व्यक्तिबाट निर्देशित पार्टी छ। विचारको संकट भएकाले पनि अहिलेको अवस्था देखिएको हो?

विचार महिना/महिना वा वर्ष/वर्षमा उत्पादन हुने चिज होइन। फरक फरक दुई पार्टी भर्खर एकता भएका छन्। सैन्द्धान्तिक विवाद कैयन हाम्राबीच कायम छन्। पूर्व एमाले र माओवादीले लिएका विचार स्वतन्त्र भएर हेर्दा कहिँ मिल्दैन। विषयवस्तुलाई हेर्ने दृष्टिकोण अहिले पनि फरक फरक छन्।

संगठनात्मक चरण पार गरिसकेपछि हामी अधिवेशनमा जान्छौं। तल्लो तहका अधिवेशन सकिएर केन्द्रीय महाधिवेशनमा गइसकेपछि बल्ल हामीबीच वैचारिक बहस सुरु हुन्छ। पार्टी बनाउने विचारले नै हो। तमाम पार्टीबीच कम्युनिस्ट फरक हुनु विचारले नै हो। आन्तरिक शुद्धिकरणले पार्टी अघि बढ्ने हो। एकताका न्यूनतम कुराहरुमा ध्यान नपुगेकाले पनि वैचारिक बहस हुने बेला भएको छैन।

२०७७ को चैतमा एकताको महाधिवेशन गर्ने निर्णय गरेका छौं। एकदिनमा बसेर सकिने काम पनि भएको छैन। पार्टीको सदस्यता तय तथा तल्लो तहका अधिवेशन तय गर्न सकिएको छैन। निर्धारित समयमा महाधिवेशन हुने स्थिति देखिएको छैन। ती कार्य समयमा गर्न सकिँदैन भने आधारभूत रुपमा पार्टीमा वैचारिक बहस हुन सक्दैन। संगठानात्मक काम नै नसकिएको बेला वैचारिक बहसमा लागे गन्जागोल हुन्छ। संरचना नै नबनेको अवस्थामा कसरी बहसलाई अगाडि बढाउन सकिन्छ? त्यसले उत्पन्न गर्ने कम्पनले पार्टीलाई कसरी थरथर हुनबाट बचाउने? संरचना तयार भइसकेपछि कार्यदिशा, कार्यनीति, दीर्घकालीन रणनीति, अहिलेको विशिष्ठ अवस्थाबारे हामी बहसमा जान्छौं। त्यसबाट संश्लेषित भएर आउने विचार पार्टीको एकिकृत विचार बन्छ।

पार्टीमा शक्ति संघर्ष छ। हुनु पनि पर्छ। उपाध्यक्ष बामदेव गौतमले समूह परिवर्तन गरेको खबर सार्वजनिक भएको छ। गौतम प्रधानमन्त्रीको समूहमा लागेपछि अर्का अध्यक्ष प्रचण्ड र नेपालको समूह कमजोर हुन पुगेको हो?

पार्टीभित्र शक्ति सन्तुलनको विशिष्ट अवस्था छ। नेकपामा तीनवटा शक्ति समूहहरु छन्। तीन प्रवृति वा समूह विद्यमान छन्। सतहमा ओली, प्रचण्ड र नेपालका समूह छन्। बाँकी नेताहरु ती समूहमा आउने/जाने आफ्नो सुविधाअनुसार गरिरहनुभएको छ। यी समूहबीच शक्ति सन्तुलन नभएसम्म यस्तो अवस्था आइरहन्छ। दुई नेता मिल्दा तेश्रो नेता सशंकित हुने, तेश्रो नेता कर्नर पर्ने हुँदै आएको छ।

विगतमा नेता नेपालको हकमा पनि यो लागू भयो। प्रधानमन्त्री ओलीको हकमा पनि पछिल्लो समय यो कुरा आयो। यो समस्या अहिले पनि समाधान हुनेवाला छैन। दाउपेच होइन, एकले अर्कालाई लडाउने राजनीति होइन। एकले अर्कोसँग गरेको कुरा छिप्दैन। एकलाई बोलाई एक प्रकारको कुरा गर्ने, अर्कोलाई बोलाई अर्को कुरा गर्ने तरिकाले हुँदैन। शक्तिको बाँडफाड गर्नु छ भनेपनि हाम्रो अहिलेको यथार्थतालाई महशुस गरी गर्नुपर्छ।

पछिल्लो सहमतिलाई चाइनिज फेबिकोलले काम गरेको चर्चा पनि छ। यसमा कति सत्यता छ?

मार्क्सवादको विचारको कार्यकर्ता भएकाले के बुझ्छु भने आन्तरिक शक्तिलाई प्रधान मानिएको हुन्छ। आन्तरिक अवस्था हाम्रो के छ, त्यसलाई बुझ्नुपर्छ। बाह्य कुरा गर्नुअघि हाम्रो आन्तरिक एकता हेर्नुपर्छ। हामी एक छौं भने कसैले पनि फुटाउन सक्दैन। आन्तरिक एकता भएन भने हामीलाई समाप्त गर्न कोही लाग्नै पर्दैन।

मित्र राष्ट्रले हामीप्रति शुभेच्छा राख्न सक्छन्। कम्युनिस्ट शासन भएका मूलुकले कम्युनिस्ट पार्टी नफुटोस भनी शुभेच्छा राख्नुलाई आकाश खसेको रुपमा लिनुहुँदैन। मित्र राष्ट्र वा जुनुसुकै संसारको पार्टीले राखेको त्यस्तो शुभेच्छालाई स्वागत नै गर्छौं।

सुशासन, स्थिरता राख्नुस्, मिलेर जानुस् भन्दा हामीले त्यस्तो शुभेच्छा दिनेलाई ढोका बन्द गर्दैनौं। चिनियाँ राजदूतले शिष्टाचार भेट गर्नुभएको हो। कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि दुई देशबीच हुने सहकार्यबीच कुरा भएको हो। चीनमा संक्रमण बढ्दा पनि नेपालीहरु संक्रमणबाट बच्न सफल रहे। चीनले नेपाली नागरिकलाई फर्काउन महत्वपूर्ण सहयोग पनि गर्‍यो। मेडिकल सामग्रीको पनि सहयोग भएको छ। चीनले निर्माण गरिरहेका परियोजनाहरु आर्थिकले नरोकिने वचन राजदूतले वचन दिनुभएको छ।

तपाईं पार्टीको विदेश विभाग उपप्रमुख पनि हुनुहुन्छ। फरक फरक दिशामा फर्केका नेतालाई विवादकै समयमा भेट्नु र लगत्तै मिल्नुले त सन्देश त त्यस्तै दिन्छ नि?

विषय वस्तुलाई फरक फरक दृष्टिकोणले बुझ्ने छुट सबैलाई छ। कुनै पनि शक्ति राष्ट्र चुप लागेर बसेको हुँदैन। ती देशका आफ्ना योजना र आफ्नै विश्लेषण पनि हुन्छ। तर, हामीले के गर्‍यौं भन्ने हाम्रो प्रमुख कुरा हो।

हाम्रो विकास र विनाशका लागि आन्तरिक पक्ष नै प्रधान हुन्छ। हाम्रा नेताहरु यस्तो अवस्थामा आइपुग्नु भयो, अगाडि जाउँ भिर छ, पछाडि फर्कौं मिलमिलाप गर्नुपर्नेछ। भिरतिर होइन, मेलमिलापतिर जानुपर्छ भन्ने उहाँहरु आफैंतिर फर्कनुभयो। पार्टीमा जुन रुपमा गलत परम्परा सुरु भएको थियो। त्यसै बिन्दुमा पुगेर गल्ति सच्च्याउनुपर्छ भनी फर्किनुभएको छ। यो नै अहिलेको प्रमुख कुरा हो। नेताको समझदारी र एकता नै प्रमुख कुरा हो। अरु सद्भाव बाहेक केही होइन।

स्थायी समितिको बैठक डाकिएको छ। नेपाल समूहले उक्त बैठकमा लिने रणनीति के हुन्छ?

स्थायी समितिमा कुन समूहले के रणनीति बनाउँछ म भन्न सक्दिन। स्थायी समितिलाई नै विगतमा नीति निर्माणको अधिकार थियो। अहिले सचिवालय छ।

आफ्ना विचार राख्न नेताहरु स्वतन्त्र हुनुहुन्छ। विवादित अध्यादेशका विषयमा उहाँलाई लागेका कुराहरु भन्न सक्नुहुन्छ। पार्टी नेतृत्वसँग सोधेर स्पष्ट हुन सक्नुहुन्छ। त्यो अधिकारको कुरा पनि हो।

विवाद स्थायी समितिमा सरेको होइन। आएका विषयलाई अझ सामूहिक तरिकाले निरुपण गर्न स्थायी समितिको बैठक डाकिएको हो।

Nepal Live: नेकपामा ओलीलाई मान्नेबाहेक अरुको अस्तित्व कहाँ छ? : विष्णु रिजाल [अन्तर्वार्ता]