नेकपाको विदेश मामिला विभागको उपप्रमुखमा विष्णु रिजाल


August 26, 2019 11:43 am

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विदेश मामिला विभागको उपप्रमुखमा विष्णु रिजाल चयन भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको सचिवालय बैठकले रिजाललाई विदेश मामिला विभागको उपप्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो ।

विभागको प्रमुख माधवकुमार नेपाल हुन् । यसअघि नै बसेको सचिवालय बैठकले विभाग प्रमुख र उपप्रमुखको टुंगो लगाएको थियो ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा रिजाल उनको प्रेस सल्लाहकार समेत बनेका थिए । उनि नेकपा एमालेको प्रचार विभागको समेत उपप्रमुख बनेका थिए । युवा नेता रिजाल लामो समयदेखी पत्रकारितामा सक्रिय थिए ।

विदेश मामिलामा समेत कलम चलाउने रिजालको सम्पादनमा हालै ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतको अनुभव’ नामक पुस्तक समेत भर्खरै प्रकाशित भएको थियो ।

दैलेख निवासी रिजाल बुधवार साप्ताहिकको सम्पादकको भुमिका समेत सम्हालेका थिए । उनलाई तत्कालिन एमालेको दैलेख जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि दैलेखबाट उम्मेदवार सिफारीस समेत गरेको थियो ।

हाल उनी नेकपाको केन्द्रीय सदस्य छन् ।

यसैबीच, बैठकले सुरक्षा विभाग प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राई, नीति अनुसन्धान प्रतिष्ठानको सहसंयोजकमा प्रमेश हमाल, प्रादेशिक मामिला विभागको उपप्रमुखमा डोरमणि पौडेल, सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईं, प्रेस संगठनको सहईन्चार्जमा महेश्वर दाहाल, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्ज सत्या पहाडी र सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्ज वीरमान चौधरीलाई जिम्मेवारी दिइएको छ ।

enepalese: नेकपाको विदेश मामिला विभागको उपप्रमुखमा विष्णु रिजाल