‘नबुझेको मान्छेहरुले मात्रै प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध राम्रो छैन भनेर प्रचार गर्छन्’ : विष्णु रिजाल


October 22, 2020 11:23 am

नेपाल–भारत सम्बन्धको कुरा गर्दा अहिले सम्बन्ध बिग्रिएको छ । तपाईहरुको पार्टीको नेतृत्वमा सरकार छ । नेपाल–भारत सम्बन्ध सुदृढ हुने सम्भावना छ ?

विल्कुलै छ । नेपाल–भारत सम्बन्ध सुदृढ हुन्छ । प्रगाढ हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतविरोधीको रुपमा जुन चित्रित गरिन्छ, त्यो गलत कुरा हो । नेपाल–भारत सम्बन्धको बारेमा कुरा गर्दा राम्रोसँग बुझेको नेतामध्ये केपी शर्मा ओली हुनुहुन्छ । यी तपाईले भन्ने गरेका जस्ता भ्रमणपनि प्रधानमन्त्रीको जानकारीबिना हुने विषयहरु होईनन् । भारतीय सेनाका प्रमुखलाई नेपाल भ्रमणको निम्ता गएको छ । हाम्रो प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग भारतको स्वतन्त्रता दिवसको अवसरमा फोनमा कुरा गर्नुभएको छ । नेपाल–भारत सम्बन्धलाई एउटा माथिल्लो स्तरबाट अगाडि बढाउनुभएको छ । अरु अधिकारहरुको बीचमा छलफल भएको छ । यो बीचमा द्धिपक्षीय मेकानिज्मको बैठकहरु पनि बसेका छन् । छिमेकी भएको हुनाले दुई देशको बीचमा कतिपय प्राकृतिक र कतिपय अस्वभाविक खालका उतारचढावहरु छन्, तिनलाई सुझबुझपूर्ण ढंगले अगाढि बढाउनुपर्छ । समस्याको समाधान गर्नुपर्छ । निकास निकाल्नुपर्छ । हामी सबैलाई थाहा छ, हामी जम्मै कुरा बदल्न सक्छौं । तर, छिमेकी बदल्न सक्दैनौं । न नेपालले भारत बदल्न सक्छ, न भारतले नेपाल बदल्न सक्छ । हामी आफ्ना संवेदनशिलताहरुलाई ख्याल गर्दै मिलेर अगाडि जानुको विकल्प छैन् । म यो कुरामा पूर्ण रुपमा विश्वस्त छु ।

प्रधानमन्त्री ओली र भारतबीच सम्बन्ध राम्रो छ ? अथवा उहाँको भारतीय नेताहरुसँग कस्तो सम्बन्ध छ ?

राम्रो छ । यो नबुझेको मान्छेहरुले मात्रै प्रधानमन्त्रीको भारतसँग सम्बन्ध राम्रो छैन भनेर प्रचार गर्छन् । किनभने बेलाबेलामा देखाईने गरिएको गलत प्रवृत्तिको विरुद्ध उभिनु भनेको कुनै देशविरुद्ध उभिएको होईन् । आफ्नो राष्ट्रलाई माया गर्नु भनेको कुनै राष्ट्रको विरोध होईन् । आज जसरी तपाईले भारतमा हेर्नुभयो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई असाध्यै धेरै माया गर्नुहुन्छ । उहाँले चाहीँ राष्ट्रवादकै आधारमा राजनीति अगाडि बढाउनुभएको छ । हिन्दूराष्ट्रवादलाई उहाँले आफ्नो आदर्श बनाउनुभएको छ । भारतमा राष्ट्रवाद उर्लिएको र त्यसलाई बढि महत्व दिएको देखिन्छ । आफ्नो देशलाई माया गर्नु बेठिक हुँदैन् । नेपालले पनि आफ्नो देशलाई माया गर्छ । आफ्नो भूमिलाई माया गर्छ । आफ्नो एक ईन्च भूमिपनि कसैबाट मिचिएको देख्न चाहँदैन् । कसैको एक ईन्च भूमिमा पनि लोभ गर्दैन् । राख्दैन् । राष्ट्रिय स्वाभिमान र राष्ट्रिय अस्मितालाई महत्व दिन्छ । यो गर्नु भनेको भारतको विरोध गर्नु वा भारतसँग जोरी खोज्नु होईन । यस रुपमा हामीले चित्रित गर्नुहुन्न । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय नेताहरुलाई राम्रोसँग चिन्ने, भारतलाई राम्रोसँग बुझेको नेपालका असाध्यै थोरै नेतामध्ये हुनुहुन्छ । धेरै लामो समयदेखि चाहे सत्तामा हुँदा होस, चाहे प्रतिपक्षमा हुँदा होस भारतसँग अत्यन्तै राम्रो सम्बन्ध भएको र भारतलाई राम्रोसँग बुझेको नेताको रुपमा हामी सबैले केपी ओलीलाई चिन्दछौं । केपी ओलीको भारतसँग नराम्रो सम्बन्ध हुने भन्ने प्रश्नै हुँदैन् ।

भारतीय सेनाअध्यक्षको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्धलाई झन प्रगाढ बढाउँछ ? यहाँले कसरी हेर्नुभएको छ ?

म के ठान्दछु भन्दाखेरि राजनीतिज्ञहरुले कुटनीतिलाई कुटनितिक माध्यम र कुटनीतिज्ञहरुमार्फत नै चलाउनुपर्छ । राजनीतिकहरुले पारदर्शी व्यवहार गर्नुपर्छ । हाम्रा स्थापित संयन्त्रहरु छन् । हाम्रा कुटनीतिक र राजनीतिक सम्बन्धहरु छन् । ती सम्बन्धहरुमार्फत हामीले सम्बन्धलाई अगाढि बढायौं भने हाम्रो सम्बन्ध नराम्रो हुनुपर्ने केही पनि कारण छैन् । हामीले कुनै अपारदर्शी र कुनै एजेन्सीहरुलाई विशेष महत्व दिने सामान्य र सहज प्रक्रियाबाट अगाडि नजाने हो भने मानिसहरुमा आशंका रहन्छ । मानिसहरुमा जालझेल गर्ने विभिन्न बेला नेताहरुले यस्तो भनेका थिए भनेर चाहीँ बार्गेनिङ स्थिति बन्छ । त्यसले गर्दा हाम्रा स्थापित च्यानलहरुमार्फत कुटनीतिलाई अगाडि बढाउनुपर्छ । हामीले संकल्प गरेका छौं कि हाम्रा मिचिएका भूमिलाई राष्ट्रिय स्वाभिमानका साथ हामीले नक्शामा समावेश गरेका छौं । संविधान संशोधन गरेका छौं । त्यसअनुकुल हामीले आफ्नो पाठ्यक्रमहरु प्नि परिवर्तन गरेका छौं । यी सबै काम हामीले कुनै लहडका आधारमा गरेको होईनु । एक जना व्यक्तिको सोचका आधारमा गरेको होईनु । पार्टीभित्रको सहमति, राष्ट्रिय सहमति, संसदभित्रको सहमति सम्पूर्ण रुपमा हामी नेपाल एक ठाउँमा उभिएर यो काम गरेका छौं । यो राष्ट्रिय एकताको जगमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग कुरा गर्नुपर्छ । वार्ता गर्नुपर्छ । हाम्रो भूमि लामो समयदेखि गुमाएका छौं, त्यसलाई कानूनी र वैधानिकसम्मत रुपमा प्राप्त गरेका छौं । तर, व्यवहारिक रुपमा फिर्ता ल्याउने कुरालाई सुनिश्चित गर्नुपर्छ । नेपाली जनता उहाँबाट यो कुरा अपेक्षा गर्छन् । र, म तपाईमार्फत एउटा कुरा नेपाली जनतासमक्ष अपिल पनि गर्छु कि उहाँले यसमा जति ढिलाई गवर्नुहुन्छ जनतामा निराशा बढु्छ । उहाँप्रति, सरकारप्रति, नेकपाप्रति जुन अपेक्षा छ, त्यो अपेक्षामा कमी आउँछ । त्यसले गर्दा शिघ्रादि शिघ्रा यस विषयमा कुराकानी हुनुपर्छ । र, विषयवस्तु टुँग्गिनुपर्छ ।

रिपोर्टर्स नेपाल: ‘नबुझेको मान्छेहरुले मात्रै प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध राम्रो छैन भनेर प्रचार गर्छन्’ : विष्णु रिजाल