शंकर पोखरेललाई बिष्णु रिजालको जवाफ-पाँचै वर्ष प्रधानमन्त्री बन्नुस् भन्ने पदलोलुप, रोजेकै पद चाहिन्छ भन्नेचाहिँ त्यागी!


February 10, 2021 7:23 am

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीतथा नेपाल कम्युनिष्ट पार्टीको ओली समूहका नेता शंकर पोखरेलले पद, प्रतिष्ठा र स्वार्थका लागि प्रचण्ड-नेपाल आन्दोलनमा गएको बताएका छन्।

प्रतिनिधि सभा विघटन विवादको कारण नभएर परिणाम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले मंगलबार साँझ फेसबुक स्टाटसमा प्रतिनिधि सभा विघटनलाई मुख्य कारणजस्तो बनाउनु यथार्थभन्दा बाहिर हुने दाबी गरेका छन्।

‘सडक आन्दोलनमा पुग्नु भएका नेताहरू यतिबेला हाम्रो विवाद पदको लागि होइन भन्दै हुनुहुन्छ। हिजो विवाद मूलतः पदप्रतिष्ठा र स्वार्थ केन्द्रीत भएकै कारणले पार्टी, पार्टी जसरी सञ्चालन हुन सकेको थिएन। नेताहरूका बीचको विवाद स्वार्थ केन्द्रीत भयो भनेर आमरूपमा प्रश्न उठेपछि नै प्रचण्ड कमरेडका नाममा कथित अभियोग पत्र तयार गरिएको थियो,’ उनले भनेका छन्, ‘विवादको समाधान हुँदा स्वार्थ पूरा नहुने ठानेर समाधानको प्रयासलाई मुख्य नेताहरूबाटै उपेक्षा गर्ने काम भएको थियो। वास्तवमा प्रतिनिधिसभाको विघटन विवादको कारण नभएर परिणाम थियो। तर आज त्यसलाई मुख्य कारणजस्तो बनाइएको छ। जुन कुरा यथार्थभन्दा बाहिर छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गर्नु पहिले नै नेकपा मनोवैज्ञानिक रूपमा विभाजित भइसकेको पनि दाबी गरेका छन्।

‘वास्तवमा प्रतिनिधि सभाको विघटनपूर्व नै पार्टी मनोवैज्ञानिक रूपमा विभाजित भइसकेको थियो। प्रतिनिधि सभाको विघटनपछि त आपसी सम्बन्ध नै शत्रुतापूर्ण तहमा पुगेको छ,’ पोखरेलले भनेका छन्, ‘हाम्रा बोली व्यवहार शत्रु हँसाउने खालकै छन्। यस्तो अवस्थामा हाम्रो विवाद पदका लागि थिएन भन्ने कुराले भन्नेको समेत उपहास भइरहेको छ। प्रतिनिधि सभाको विघटन पछिका हाम्रा क्रिया र प्रतिक्रियाले पदीय आकांक्षालाई नै पुष्टि गरिरहेका छन्। किनकी त्यस पछिका मुख्य निर्णयहरू पद प्राप्तिमा नै केन्द्रीत देखिएका छन्।’

उनले अझै पनि मिलेर जान सकिने ठाउँ रहेको बताएका छन्।

‘बरू यसका विपरीत विगतको हाम्रो विवाद गलत थियो भनेर गल्ती स्वीकार गर्ने हो भने मिलेर जाने ठाउँ बनाउन सकिन्छ। अनि चुनाव त अझ यस्तो हतियार हो, जसले विवादलाई पनि मत्थर पार्न सहयोग पुर्‍याउन सक्छ। शत्रुतापूर्ण विवादबाट बाहिर निक्लेर यसरी पनि सोच्न सकिन्छ कि!,’ मुख्यमन्त्री पोखरेलले भनेका छन्।

प्रचण्ड-नेपालको पदको लोभले नेकपा अहिलेको अवस्थामा आएको पोखरेलको तर्कमा प्रचण्ड-नेपाल पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकबाटै जवाफ दिएका छन्।

‘प्रचण्ड-माधव नेपालको लडाइँ पदका लागि हो’ भनेर प्रमाणित गर्न मुख्यत: ती मानिसहरू लागिरहेको देख्दा आश्चर्य लाग्छ, जसले एक-दुई होइन-तीन पदसम्म अँठ्याइरहेका छन् र त्यतिले मात्र नपुगेर श्रीमती, बहिनी र ज्वाइँलाई समेत इच्छाएका पद दिलाउने सफलता पाएका छन्। उल्टै अरूलाई आरोपित गर्दै अर्ती दिन सक्ने त्यस्ता नेताहरूको क्षमतालाई मान्नुपर्छ,’ उनले भनेका छन्।

प्रधानमन्त्री ओलीलाई पाँचै वर्ष प्रचण्डले प्रधानमन्त्री चलाउन भनेको पनि उनले उल्लेख गरेका छन्।

‘साढे दुई वर्षको लिखित सम्झौता गरेर प्रधानमन्त्री भएको मानिसलाई पूरै कार्यकाल काम गर्नूस् भन्ने पदलोलुप? अनि पार्टीमा पनि, सरकारमा पनि रोजेकै पद चाहिन्छ भन्नेचाहिं त्यागी! पार्टी स्थायी समिति र संसदीय दलमा प्रधानमन्त्रीका लागि नाम प्रस्ताव गर्नेचाहिं पदलोलुप, अनि पार्टीमा बहुमत गुमाइसक्दा पनि बैठकै बस्दिनँ भन्नेचाहिं राजनेता?,’ रिजालको प्रश्न छ।

सेतोपाटी: शंकर पोखरेललाई बिष्णु रिजालको जवाफ-पाँचै वर्ष प्रधानमन्त्री बन्नुस् भन्ने पदलोलुप, रोजेकै पद चाहिन्छ भन्नेचाहिँ त्यागी!