विष्णु रिजालको टिप्पणी : खुट्टामा खटिरा आएपछि प्रधानमन्त्रीले खुट्टै काटेर फालिदिनुभयो !


December 22, 2020 1:54 pm

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खुट्टामा खटिरा आउँदा उपचार नगरेर खुट्टै काटेर फालेको टिप्पणी गरेका छन्।  

संसद् भंग गराएर चुनाव घोषणा गराएका प्रधानमन्त्री ओलीले आज पार्टीको छुट्टै केन्द्रीय समिति बैठक गरिरहेका बेला नेता रिजालले उनको आलोचना गरेका हुन्।  

पूर्वएमाले खेमाकै नेता रिजालले संविधानले राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद् विघटन गराउने अधिकार नदिएको पनि दाबी गरेका छन्। यसैकारण राजनीतिक तवरबाटै यसको प्रतिवादन गर्नुपर्नेमा अदालतको शरणमा पुग्नु बुद्धिमानी नभएको पनि रिजालको तर्क छ।  

‘खुट्टामा खटिरा आएपछि प्रधानमन्त्रीले त्यसको उपचार गर्नुपर्नेमा प्रधानमन्त्रीले खुट्टै काटेर फालिदिनुभयो,’ रिजालले मंगलबार दिउँसो ट्विटरमा लेखेका छन्, ‘संविधानले राष्ट्रपति र प्रमलाई संसद् विघटनको अधिकार दिएकै छैन। राजनीतिज्ञले आफ्नो हातबाट राजनीतिको पहलकदमी गुमाएर अदालतसमक्ष सुम्पिनुलाई कसरी बुद्धिमानी मान्न सकिन्छ र ?’

नागरिक दैनिक: विष्णु रिजालको टिप्पणी : खुट्टामा खटिरा आएपछि प्रधानमन्त्रीले खुट्टै काटेर फालिदिनुभयो !