प्रचण्ड-माधव पदका लागि सडकमा गएको पोखरेलको दावी : रिजालको प्रश्न, ‘बैठक नै बस्दिनँ भन्ने चाँही राजनेता ?’


February 10, 2021 8:31 am

सत्तारुढ दल नेकपामा राजनीतिक विभाजन भएसँगै शीर्ष तहका नेताहरु नै एक अर्काविरुद्ध गालीगलौजमा उत्रिएका छन् । गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि सुरु भएको गालीगलौजको श्रृङ्खला आजपर्यन्त जारी छ ।

यसबीचमा पार्टीमा देखिएको फुटलाई फेरि एकतामा बदल्न सक्ने भनिएका नेताहरु पनि जुहारी खेल्नमै व्यस्त छन् । यसबीचमा सामाजिक सञ्जालमा युवा नेताहरुको प्रश्नोत्तरको श्रृङ्खला पनि उल्लेख्य छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका शंकर पोखरेलले प्रचण्ड-माधव समूहले आफूले पद नपाएका कारण आन्दोलनमा गएको मंगलबार अबेर सामाजिक सञ्जालमा राखे । उनले अहिलेको पार्टीको विवाद उनीहरुले पद नपाएकै कारण भएको उनको निष्कर्ष छ ।

पोखरेल लेख्छन्, ‘सडक आन्दोलनमा पुग्नुभएका नेताहरु यतिबेला हाम्रो विवाद पदको लागि होइन भन्दै हुनुहुन्छ । हिजो विवाद मूलतः पद प्रतिष्ठा र स्वार्थ केन्द्रित भएकै कारणले पार्टी, पार्टी जसरी संचालन हुन सकेको थिएन । नेताहरुका बीचको विवाद स्वार्थ केन्द्रित भयो भनेर आम रुपमा प्रश्न उठेपछि नै प्रचण्ड कमरेडका नाममा कथित अभियोग पत्र तयार गरिएको थियो । विवादको समाधान हुँदा स्वार्थ पूरा नहुने ठानेर समाधानको प्रयासलाई मुख्य नेताहरुबाटै उपेक्षा गर्ने काम भएको थियो । वास्तवमा प्रतिनिधिसभाको विघटन विवादको कारण नभएर परिणाम थियो । तर, आज त्यसलाई मुख्य कारण जस्तो बनाइएको छ । जुन कुरा यथार्थभन्दा बाहिर छ ।’

पोखरेलको उक्त भनाइको प्रचण्ड-माधव समूहका नेता विष्णु रिजालले तत्कालै जवाफ दिएका छन्, सामाजिक सञ्जालबाटै । रिजालले पदको लोभमा आन्दोलनमा गएको आरोप लगाउने समूहले आफ्नो अवस्था हेर्न पनि भनेका छन् । उनले प्रश्न गरेका छनं, ‘बैठक नै बस्दिनँ भन्ने चाँही राजनेता ?’

रिजालले पोखरेललाई कटाक्ष गर्दै लेखेका छन्, ‘प्रचण्ड-माधव नेपालको लडाइँ पदका लागि हो’ भनेर प्रमाणित गर्न मुख्यतः ती मानिसहरू लागिरहेको देख्दा आश्चर्य लाग्छ, जसले एक-दुई होइन, तीन पदसम्म अँठ्याइरहेका छन् । र, त्यतिले मात्र नपुगेर श्रीमती, बहिनी र ज्वाइँलाई समेत इच्छाएका पद दिलाउने सफलता पाएका छन् । उल्टै अरूलाई आरोपित गर्दै अर्ति दिन सक्ने त्यस्ता नेताहरूको क्षमतालाई मान्नुपर्छ ।’

फरकधार: प्रचण्ड-माधव पदका लागि सडकमा गएको पोखरेलको दावी : रिजालको प्रश्न, ‘बैठक नै बस्दिनँ भन्ने चाँही राजनेता ?’