‘एमालेको एकतालाई हरहालतमा जोगाऔं, सहयात्री नेतालाई निष्कासन गरे पार्टी विभाजन हुन्छ’


March 24, 2021 12:32 pm

नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीका नेताहरूलाई स्पष्टीकरणमाफर्त कारबाही प्रक्रिया अघि बढाएर एमालेलाई विभाजन गर्न खोजिएको बताएको छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत माधव नेपाल पक्षका नेता रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरूलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई स्पष्टिकरणमाफर्त कारबाही सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका हुन्।  

‘तत्कालीन पार्टी नेकपाका बेलामा प्रधानमन्त्रीले पार्टीलाई थाहै नदिई प्रतिनिधिसभा विघटन गरेको र सडक आन्दोलन समेत चलेको बेला भएका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टीकरणमार्फत कारबाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा हो,’ उनले लेखेका छन्, ‘तसर्थ, स्पष्टीकरणको जवाफ प्राप्त भएपछि यस प्रकरणलाई एक दुःखद अध्यायका रुपमा यही समाप्त गर्नुपर्छ ।

उनले पार्टी निमार्णमा अग्रणी र नेतृत्वदायी योगदान दिएका नेता नेपालबिना एमाले परिकल्पना नै गर्न नसक्ने बताए। यदि कसैले त्यस्तो परिकल्पा गर्छ भने त्यो एकीकृत नभएर विभाजित एमाले मात्र हुने भनाई छ। ‘आजको नेकपा (एमाले) निर्माणमा माधवकुमार नेपालको योगदान सधैँ अग्रणी र नेतृत्वदायी छ। ०३१ सालमा कोअर्डिनेसन केन्द्रको स्थापना गर्दै ०३५ मा नेकपा (माले) का रुपमा नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्ने र ०४७ मा नेकपा (एमाले) निर्माण गरेर त्यसको नेतृत्व गर्ने प्रमुख हस्तीका रुपमा उहाँ एमाले धाराको प्रमुख नेताका रुपमा स्थापित हुनुहुन्छ,’ रिजालले लेखेका छन्, ‘त्यसैले आज कसैले माधव नेपालबिनाको नेकपा (एमाले) को कल्पना गर्दछ भने त्यो एकीकृत होइन, विभाजित एमाले मात्र हुन्छ।’

आफ्नो पार्टीका संस्थापक, सहयात्री र अगुवा नेताहरुलाई निष्काशन गरेर र अर्को पार्टीबाट मन्त्रीमा आएकाहरूलाई साथमा लिएर बलियो एमाले नबन्ने बरु एमालेलाई गहिरो गरी विभाजित गर्ने उनको ठहर छ।

नेता रिजालले पार्टीका एकता बचाउन विधान विपरीतका सम्पूर्ण क्रियाकलापहरू बन्द गरिनुपर्नेमा जोड दिएका छन्। उनले गत फागुन २३ को सर्वोच्चको फैसलाबमोजिम पुनःस्थापित एमालेको केन्द्रीय कमिटीको बैठकबाट विधानको बाधा अड्काउ फुकाऊ, जिम्मेवारी हेरफेर, कमिटीमा थपघट जस्ता आवश्यक निर्णहरू गर्नुपर्ने बताएका छन्।

ओली नेतृत्वको सरकारलाई बाँकी दुई वर्षको कार्यकालसम्म निरन्तरता दिन पार्टीलाई एकताबद्ध बनाएर मात्र अन्य पार्टीसँग वार्ता गरेर बहुमत सुनिश्चत गर्नुपर्ने उनको भनाई छ।

कुनै पनि हालतमा एमालेको एकतालाई बचाउनुपर्नेमा जोड दिएमा नेता रिजालले पार्टीको नवौँ महाधिवेशनबाट पारित नीति, विधान र नेतृत्वलाई आधार बनाएर अघि बढ्नुपर्ने बताएका छन्।

नागरिक दैनिक: ‘एमालेको एकतालाई हरहालतमा जोगाऔं, सहयात्री नेतालाई निष्कासन गरे पार्टी विभाजन हुन्छ’