अरू तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुप भनेको सुहाउँदैन: विष्णु रिजाल


November 14, 2020 10:03 pm

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदलोलुप भन्न नमिल्ने बताएका छन्।  

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला शनिबार साँझ सामाजिक सञ्जालमार्फत नेता रिजालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई संकेत गर्दै ‘जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपको आरोप लगाउँदा लोकले पत्याउला र’ भन्ने टिप्पणी गरेका हुन्।  

शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो एकल प्रस्ताव प्रस्तुत गरेपछि अहिले उनको आलोचना भइरहेको छ।  

यस विषयमा नेताहरूबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ। यसै क्रममा नेता रिजालले पनि आफ्नो धारणा राखेका हुन्।  

‘अरू तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुप भनेको सुहाउँदैन,’ रिजालले फेसबुकमा लेखेका छन्, ‘कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्दा स्वीकार नगरेर पार्टी एकता अघि बढाउने र आधा कार्यकालको लिखित सहमतिलाई बीचैमा छाडिदिने व्यक्तिलाई पदलोलुप कसरी भन्न मिल्ला र?’

पार्टीको विदेश विभागको उपप्रमुखसमेत रहेका रिजालले अगाडि लेखेका छन्, ‘ख्याल गरौं, प्रचण्डले साथ नदिएको भए न विद्या भण्डारी राष्ट्रपति हुनुहुन्थ्यो, न केपी ओली प्रधानमन्त्री। यति नभइसकेपछि अरू साथीहरूले रोजी–खोजी विभिन्न पद पाउन त सम्भावनै हुन्थेन। त्यसैले जसको सहयोगमा आफू पदमा बसिरहेको छ, उसैलाई पदलोलुपको आरोप लगाउँदा लोकले पत्याउला र?’

नागरिक दैनिक: अरू तर्क गर्न सकिएला, प्रचण्डलाई पदलोलुप भनेको सुहाउँदैन: विष्णु रिजाल