संक्रमणका बेला जसरी ‘राजनीतिक हुने’ छुट छैन नयाँ राष्ट्रपतिलाई


March 5, 2018 4:52 am

नयाँ संविधान अनुसार तेस्रो कार्यकालमा प्रवेश गर्न लागेको राष्ट्रपति संस्थाका लागि हर अवस्थामा संवैधानिक हुनुबाहेक हिजो जस्तो कतिपय अवस्थामा ‘राजनीतिक हुने’ संक्रमणकालको छूट छैन।


२३ फागुनमा मनोनयन र २९ फागुनमा निर्वाचनसँगै नयाँ संविधान अनुसार चैत पहिलो साता मुलुकले पहिलो राष्ट्रपति पाउँदैछ । यसअघिका दुई राष्ट्रपति संक्रमणकालीन व्यवस्था अनुसार निर्वाचित भएका थिए ।

यसपटक नयाँ संविधानअन्तर्गत तीन तहको निर्वाचनबाट संक्रमणकाल अन्त्य भइसकेपछि पाँच वर्षका लागि नयाँ राष्ट्रपति चयन गरिंदैछ ।

पहिलो राष्ट्रपति डा. रामवरण यादव सात वर्ष शीतलनिवासमा बसे, तर त्यो निर्धारित कार्यकाल थिएन । संविधानसभाको म्यादसँगै थपिएको उनको कार्यकालले मुलुकको लम्बिंदो संक्रमणसँगै लम्बिने मौका पायो ।

विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भइसकेपछि चाहिं मुलुक निर्धारित मार्गमै अघि बढेकाले करीब साढे दुई वर्षमै उनको कार्यकाल सकिन लागेको छ ।

‘संक्रमणकाल’ को छूट सकियो
१५ जेठ २०६५ मा राजतन्त्र हटाउँदा धेरैको मनमा आशंका थियो । आधुनिक नेपालमा २४० वर्ष शासन गरेको शाहवंशलाई विदा गर्दा मुलुकमा नयाँ व्यवस्था कस्तो होला भन्ने कौतुहल अस्वाभाविक थिएन ।

राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक मान्ने र आफ्ना सन्ततिका लागि पनि राजाले देशमाथि घात गर्दैनन् भन्ने मान्यता बोकेका नेपालीमा लोकतन्त्रविरोधी कदमहरूका कारण ज्ञानेन्द्र शाहप्रति वितृष्णा भए पनि राजतन्त्रबारे त्यति नकारात्मक धारणा थिएन ।

पृथ्वीनारायण शाहले बनाएको देश र त्रिभुवनले ल्याएको प्रजातन्त्र भनेर पढेका नेपालीमा नयाँ व्यवस्थाप्रति आश्वस्त हुने अवस्था थिएन । दलहरूले विश्वसनीयता आर्जन गर्न सकिरहेका थिएनन् ।

मुलुक हिंसात्मक राजनीतिबाट भर्खरै शान्तिकालमा प्रवेश गरेकाले कतिबेला के हुन्छ भन्ने त्रास कायमै थियो । विधिको शासन पूरै निस्तेज भएको थियो र जतिबेला जे चाहिन्छ, त्यही सम्झैता गरेर गर्जो टार्ने कामले मुलुकलाई असफल राष्ट्रको बाटोमा लगिरहेको थियो । त्यस्तो बेलामा दलहरूले राजतन्त्र विस्थापित गरेर स्थापना गरेको राष्ट्रपति संस्थाप्रति मानिसहरू आश्वस्त हुन सकिरहेका थिएनन् ।

सरकारी नियुक्ति होस् या निर्वाचनको उम्मेदवारी– राजनीतिक संक्रमणका बेला हाम्रा राष्ट्रपति संस्थाको अग्रसरता देखिने गरेको छ । शीतलनिवासबाट कार्यकारीका अधिकारहरूलाई दक्खल दिने गरिका यस्ता कामहरू संविधान बाहिरको कुरा हो ।

संविधान बनाउन असफल भएसँगै सकिएको पहिलो संविधानसभाले गरेको राजतन्त्र उन्मूलनसम्बन्धी निर्णयमा प्रश्न उठाउने ठाउँ थियो । जे कामका लागि बनेको हो, त्यो गर्न नसकेपछि उसले गरेका अरू निर्णयहरूले वैधता पाउँदैनन् भन्ने तर्क पनि सुनिएकै थियो ।

तर, दलहरू जनबलका आधारमा अगाडि बढे अनि दोस्रो संविधानसभाबाट संविधान बनाए । त्यसक्रममा राष्ट्रपति संस्थाले अनेक संकटपूर्ण अवस्थामा दलहरूका बीचमा संवाद गराएर निकास निकाल्ने भूमिका निर्वाह गर्‍यो, जुन राजतन्त्रकालमा विरलै हुने गथ्र्यो ।

‘प्रेस्क्रिप्सन’ जताको भए पनि भुमरीमा फँसेको मुलुकलाई त्यसबाट बाहिर निकाल्न प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने कामको अगुवाइ राष्ट्रपति डा. यादवले गरेका थिए । त्यो उचित कदम होइन भन्ने उनलाई थाहा थियो, तर त्यसमै टेकेर मुलुकले निकास पाएकाले अहिले उपलब्धिका रूपमा लिनुपर्छ ।

डा. यादवसँग जोडिएको अर्को विषय हो– प्रधानसेनापति प्रकरण, जसलाई संवैधानिक रूपमा नभई राजनीतिक हिसाबले विश्लेषण गर्नुपर्छ ।

सेनापति हटाउने निर्णय सरकारको कार्यकारी अधिकार भए पनि जुन परिस्थितिमा रुक्मांगद कटवाललाई अवकाश दिएर कुलबहादुर खड्कालाई जंगी अड्डाको कमाण्ड सुम्पिन खोजियो, त्यसमा नियत ठीक थिएन ।

त्यसबेला सरकारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल शिविरमा रहेका १९ हजार लडाकूका कमान्डर थिए । छेउमै उनीहरूका हतियार सानो ताला लगाएर राखिएका थिए । त्यस्तो बेलामा सेवा अवधि तीन महीना बाँकी रहेका सेनापति कटवाललाई कुनै अक्षम्य गल्तीका कारण विदा दिन खोजिएको थिएन ।

सरकारमा सहभागी नेकपा (एमाले) ले दाहालको निर्णयका कारण आफू सरकारमा नरहेको पत्र शीतलनिवासमा बुझयो । नेपाली कांग्रेसले पनि सरकारको उक्त निर्णय विरुद्ध ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति डा. यादवले राजनीतिक कदम चालेका थिए । त्यसमा संवैधानिकताको बहस पछिसम्मै होला, तर मुलुकमा उग्रवादलाई रोक्न राष्ट्रपतिको त्यो राजनीतिक निर्णयले महत्वपूर्ण भूमिका खेलेकोमा शंका छैन ।

संविधानले राष्ट्रपतिलाई पूर्ण रूपमा आलंकारिक बनाएको छ । यसको मतलब एउटा दलबाट निर्वाचित भए पनि राष्ट्रपति कुनै प्रकारको विवादमा नपरुन् भन्ने नै हो । सबै काम मन्त्रिपरिषद्को सम्मतिमा गर्नुपर्ने भएपछि राष्ट्रपति विवादमा आउँदैनन्, सबैको साझा रहन्छन् भन्ने परिकल्पना संविधानले गरेको छ ।

तर, नेपाल जस्तो तेस्रो विश्वका मुलुकहरूमा हर व्यक्तिमा शक्तिको भोक रहन्छ भन्ने कुराबाट राष्ट्रपति अपवाद भएको पाइँदैन । हाम्रै राजनीतिक संक्रमणका बेला प्रत्यक्ष वा परोक्ष रूपमा यस्ता उदाहरण देखिए पनि ।

सरकारी नियुक्ति होस् या निर्वाचनको उम्मेदवारी– राजनीतिक संक्रमणका बेला हाम्रा राष्ट्रपति संस्थाको अग्रसरता देखिने गरेको छ । शीतलनिवासबाट कार्यकारीका अधिकारहरूलाई दक्खल दिने गरिका यस्ता कामहरू संविधान बाहिरको कुरा हो ।

तोड्नै पर्ने दलीय घेरा
विद्यादेवी भण्डारी राष्ट्रपति भएपछिको शीतलनिवास तुलनात्मक रूपमा शान्त छ । नयाँ संविधान बनेपछि निर्वाचित भएका कारण राष्ट्रपतिले अघिल्लो अवधिमा जस्तो जटिल प्रश्नहरूमा प्रवेश नै गर्नुपरेन ।

तर राष्ट्रपतिको कार्यालयले सामान्य विचार नपुर्‍याउँदा पनि गम्भीर असर देखिन्छ भन्ने चाहिं राष्ट्रपति भण्डारीको भारत भ्रमणका प्रसंग केलाउँदा थाहा हुन्छ । पहिले तय भएको भ्रमण अकारण रद्द गर्नुको परिणामस्वरुप पछि भारत पुग्दा राज्यमन्त्री तहको स्वागतमा सीमित रहनुपरेको अनुभव उनलाई पक्कै भएको हुनुपर्छ ।

राष्ट्रको प्रथम नागरिक भएका कारण राष्ट्रपतिले के गर्छ, के लगाउँछ, कहाँ जान्छ भन्ने जस्ता कुरामा नागरिकहरूले चासो राख्छन् । राष्ट्रपति भण्डारी आफैं महिला अधिकारका पक्षमा लड्दै आएकी व्यक्तित्व हुन् । तर, उनले आफ्नो पहिलो महीनाको तलब कुनै परोपकारी काममा लगाउनुको साटो पैसै नचाहिने पशुपतिनाथलाई दिइन् ।

विचारका हिसाबले पनि उनी द्वन्द्वात्मक भौतिकवादमा विश्वास राख्ने पार्टीको उपाध्यक्ष भइसकेका व्यक्ति हुन्, तर यसबीचका उनका अधिकांश भ्रमण धर्मकर्ममा सीमित छन् । आवश्यक नै नभएको जानकी मन्दिर भ्रमण गरेर विवादमा त परिन् नै साढे दुई वर्षको कार्यकालमा कुनै पनि प्रमुख शक्तिपीठको दर्शन गर्न बाँकी राखिनन् ।

राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गर्दा पनि शीतलनिवासमा राजनीतिक सुझबुझ खट्कियो । कामचलाउमा परिणत नहुँदै तत्कालीन सरकारले उक्त अध्यादेश शीतलनिवास पठाएको थियो ।

विद्यादेवी भण्डारी राष्ट्रपति भएपछिको शीतलनिवास तुलनात्मक रूपमा शान्त छ । नयाँ संविधान बनेपछि निर्वाचित भएका कारण राष्ट्रपतिले अघिल्लो अवधिमा जस्तो जटिल प्रश्नहरूमा प्रवेश नै गर्नुपरेन ।

यो बेग्लै कुरा हो, दुई वामपन्थी दलको गठबन्धन बनेपछि संसद्‌मा आफैंले प्रस्ताव गरेको बहुमतीय निर्वाचन प्रणाली हटाएर कांग्रेसको सरकारले एकल संक्रमणीय प्रणाली प्रस्ताव गरेको थियो । नेकपा (एमाले) र माओवादी केन्द्र त्यस विरुद्ध उभिएका कारण राष्ट्रपति भण्डारीले करीब दुई महीनासम्म स्वीकृत गरिनन् । पछि आफैं विवादमा परेपछि त्यसलाई जस्ताको तस्तै लालमोहर लगाइन् ।

राष्ट्रिय सभाका तीन सदस्यको मनोनयनमा पनि राष्ट्रपतिको कार्यालय विवादमा पर्‍यो । जनमत गुमाइसकेको देउवा सरकारले एकल रूपमा तीन जनाको नाम सिफारिश गर्नु लोकतन्त्रको खिल्ली थियो, तर सिफारिश नै गरिसकेपछि रोक्ने वा अस्वीकार गर्ने अधिकार राष्ट्रपतिसँग थिएन । बरु, त्यसबेला राष्ट्रपतिले दलहरूबीच सहमति गराउन सक्थिन् ।

प्रधानमन्त्रीलाई बोलाएर ‘एकल सिफारिश नगर्नुस्, म एमाले र माओवादी नेताहरूलाई पनि बोलाउँछु, तीनै पार्टीबाट एक–एक जना गर्नुस्’ भनेर वातावरण मिलाउन सक्थिन् ।

तर, आफ्नै कार्यालयकी कर्मचारीलाई अवसर दिने चाहनाले पनि होला, राष्ट्रपति देशको अभिभावकीय भूमिकामा चुकिन् । र, विवाद अदालतमा पुगेको छ । कार्यकालको अन्त्यमा सानो चुकले राष्ट्रपति संस्थाको मर्यादामा आँच पुगेको छ ।

सरकार गठनका सन्दर्भमा पनि शीतलनिवासले अपरिपक्वता देखायो । निर्वाचन आयोगले अन्तिम निर्वाचन परिणाम बुझएपछि भोलिपल्ट कार्यालय समय पनि नपर्खेर नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थाल्नुले स्वाभाविक रूपमा प्रश्न उब्जाएको छ ।

बहुमत जुटाउन सक्ने प्रतिनिधिसभाका सदस्यलाई बहुमतसहित शीतलनिवास आउने आह्वान गर्न पनि आवश्यक ठानिएन । आज गरेको कुरा भोलि नजिर बन्छ भन्ने सामान्य हेक्का समेत राखिएन ।

दलहरूले आफू अनुकूल प्रयोग गर्न खोज्दा राष्ट्रपति संस्थाको मर्यादा खस्किन्छ । लोकमानसिंह कार्की नियुक्ति प्रकरण त्यसको एउटा उदाहरण हो ।

तत्कालीन राष्ट्रपति डा. यादव उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने पक्षमा थिएनन्, तर दलहरूले यसरी दबाब दिए कि त्यसलाई थेग्न उनले सकेनन् । आफूलाई भेट्न आउनेहरूसँग पूर्व राष्ट्रपति यादव आफ्नो कार्यकालको सबभन्दा ठूलो कमजोरीका रूपमा त्यस घटनालाई सम्झिने गर्छन् ।

हामीले अनेक अनुभवबाट सिक्दै पीडादायी संक्रमणकाल पार गरेका छौं । निर्वाचनबाट बनेको बलियो सरकारको कार्यशैली र बाँकी सबै संस्था आ–आफ्नो मर्यादामा रहन्छन् कि रहन्नन् भन्ने कुरामा हाम्रो लोकतन्त्र र मुलुकको भविष्य निर्भर हुनेछ ।

हिमालखबर: संक्रमणका बेला जसरी ‘राजनीतिक हुने’ छुट छैन नयाँ राष्ट्रपतिलाई