विष्णु रिजाल भन्छन्, ‘समय छ – फर्कौँ !’


April 23, 2021 3:51 pm


सत्तारुढ दल नेकपा एमालेका नेता विष्णु रिजालले पार्टीभित्र आन्तरिक विवाद तथा अन्तर्विरोधहरू रहेको भएपनि समाधानको विकल्पहरु पनि रहेको बताएका छन् । रिजालले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

रिजालले अहिलेको एमाले भीरको डिलमा पुगेको भएपनि लडिनसकेकाले अझै सम्हालिने समय रहेको बताए । उनले अझै समय रहेको भन्दै लड्नुभन्दा फर्कनु उचित रहेको बताए । 

संसारमा कुनैपनि कम्युनिष्ट पार्टी अन्तर्विरोध मुक्त नभएको भन्दै रिजालले पार्टी भित्रको विरोधलाई मथ्थर पार्दै एकतावद्ध हुन अपिल गरेका हुन् । उनले रुस र चीन जस्ता विशाल मुलुकलाई मुक्त गर्ने कम्युनिस्ट पार्टीहरू पनि अन्तर्विरोधहरू बाटै गुज्रेर र तिनलाई समाधान गरेर आएका उल्लेख गरेका छन् । 

अहिले एमाले पछि फर्कनु उचित रहेको भन्दै रिजालले लेखेका छन्, ‘सन् १९०० को आरम्भतिर पार्टीमा उत्पन्न अन्तर्विरोध समाधानमा केन्द्रित रहेर लेनिनले अघि सारेको ‘एक कदम अगाडि : दुई कदम पछाडि’को प्रस्थापना आजको नेकपा (एमाले) आन्तरिक जीवनमा उत्तिकै अपरिहार्य र सान्दर्भिक बनेको छ ।’ 

समाज, विज्ञान वा भौतिक वस्तुहरुमा प्रकट हुने अन्तर्विरोधहरू संघर्षको माध्यमबाट समाधान हुने भएपनि पार्टीभित्रका अन्तर्विरोधमा ‘निषेधको निषेध’को नियम लागु नुहने भन्दै रिजालले यसको समाधान आलोचना-आत्मालोचनाको पद्धतिबाट हुने बताए । 

रिजालले पार्टीभित्रको अन्तर्विरोध समाधानको बाटो मार्क्सवाद–लेनिनवादले स्पष्ट पारेको भन्दै अब फर्कनुपर्नेमा जोड दिएका छन् । रिजाल लेख्छन्, ‘अतः भीरको डिलमा पुगिसके पनि लडिसकेका छैनौँ । समय छ– फर्कौँ !’

फरकधार: विष्णु रिजाल भन्छन्, ‘समय छ – फर्कौँ !’