विश्वका कम्युनिष्ट र नेपालको सन्देश


October 29, 2019 6:01 am

टर्कीमा १–३ कात्तिकमा सम्पन्न कम्युनिष्ट तथा श्रमिक पार्टीहरूको बैठकमा फुट, सैद्धान्तिक अलमल र सरकारी दमनबाट गुज्रिरहेका कम्युनिष्टहरूलाई नेकपाले एकता र बहुदलीय प्रतिस्पर्धाबाट सत्ताामा पुग्न सकिन्छ भन्ने सन्देश दिएको छ ।


टर्कीको पर्यटकीय शहर इज्मिरमा १८ देखि २० अक्टोबरसम्म विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीहरू (आईएमसीडब्लुपी) को २१औं बैठक बस्यो ।

५८ देशका ७४ वटा कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको बैठकले कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय र विचारधारामा आधारित भएको निष्कर्ष निकाल्यो । आगामी दिनमा पनि यस्ता बैठक तथा सम्मेलनहरू जारी राख्नुपर्ने सहभागीहरूको जोड थियो ।

सन् १९९० को दशकको शुरूबाटै कम्युनिष्टहरू प्रतिरक्षात्मक अवस्थामा पुगेको वेला सन् १९९८ देखि हरेक वर्ष यस्तो बैठक हुने गरेको छ । विश्वका प्रमुख कम्युनिष्ट पार्टीहरू सदस्य रहेको कार्यकारी समूहमा मसिना गरी छलफल गरेर बैठकको कार्यसूची, स्थान, नारा जस्ता विषय टुङ्गो लगाइन्छ ।

टर्कीकाे इज्मिरमा १–३ कात्तिकमा सम्पन्न कम्युनिष्ट तथा श्रमिक पार्टीहरुकाे अन्तर्राष्टिय सम्मेलनका सहभागीहरु ।
रूसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९१९ मा लेनिनले विश्वका कम्युनिष्ट पार्टीहरूबीच मोर्चा बनाउने उद्देश्यले कम्युनिष्ट इन्टरनेशनल अर्थात् कोमिन्टर्न गठन गरेका थिए । कोमिन्टर्न गठनको सय वर्ष पुगेको सन्दर्भ पारेर यसपटकको बैठक आयोजना गरिएको थियो ।

बैठकमा साना वा ठूला, वैधानिक वा संघर्षरत, सत्तारुढ वा विपक्षी सबै प्रकारका कम्युनिष्ट पार्टीहरूको धारणा सुन्दा विश्वमा कम्युनिष्ट आन्दोलन कुन दिशा र दशाबाट गुज्रिरहेको छ भन्ने बुझ्न पाइन्छ ।

गएको वर्ष ग्रीसको एथेन्स र यस वर्ष टर्कीको इज्मिरमा आयोजित बैठकमा भाग लिंदा मैले विश्वमा मोटामोटी पाँच प्रकारका कम्युनिष्ट पार्टी भएको निष्कर्ष निकालें । यी पार्टीबीच विषयवस्तुमाथिको दृष्टिकोण र क्रान्ति सम्बन्धी धारणा पनि भिन्नाभिन्नै छ ।

क्रान्तिबाट सत्ता चलाइरहेका पार्टी
कुनै वेला कम्युनिष्ट विचारले आधाभन्दा बढी विश्वमाथि शासन गरेको थियो । अहिले पनि भियतनाम (१९४५), उत्तरकोरिया (१९४८), चीन (१९४९), क्युबा (१९५९) र लाओस (१९७५) मा कम्युनिष्ट शासन छ । अन्तर्राष्ट्रिय मञ्चमा यिनीहरू चर्का कुरा गर्दैनन्, आ–आफ्नो देशको परिस्थिति र मागबमोजिम फरक ढङ्गले समाजवाद निर्माण हुने कुरा गर्छन् ।

कम्युनिष्ट शासन टिकाइराख्नका लागि जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा उनीहरूको मुख्य जोड छ । क्रान्ति आयात वा निर्यात गर्न नसकिने भएकाले हरेक देशले आफू अनुकूलको नीति लिनुपर्ने सुझाव दिन्छन् ।

आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा विशेष जोड दिएकैले चीन, भियतनाम र लाओसले तीव्रतर आर्थिक विकास गरिरहेका छन् । उत्तरकोरिया र क्युबाले चरम आर्थिक नाकाबन्दी भोग्दाभोग्दै पनि आफूलाई टिकाइरहन सक्नुका पछाडि जनताको बलियो साथ नै हो ।

शासनसत्ता गुमाएका पार्टी
विश्वमा शासनसत्ता गुमाउने कम्युनिष्ट पार्टीको संख्या ठूूलो छ । सन् १९१७ मा लेनिनको नेतृत्वमा रूसमा अक्टोबर क्रान्ति भएपछि त्यसको प्रभाव अन्य मुलुकमा तीव्र रूपमा परेको थियो । पूर्वी युरोपका अधिकांश देशमा कम्युनिष्ट पार्टीहरू सत्तामा पुगेका थिए ।

जब मिखाइल गोर्वाचोभको नेतृत्वमा २६ डिसेम्बर १९९१ मा ७४ वर्ष पुरानो सोभियत संघ विघटन भयो त्यसको प्रभाव पनि संसारभर फैलियो । पूर्वी युरोपका सबै कम्युनिष्ट शासन ढले ।

अन्तर्राष्ट्रिय बैठकहरूमा ती देशका कम्युनिष्ट पार्टीका नेताहरूको विचार भिन्नै हुन्छन्, बढी जसो इतिहासका कुरा गर्दछन् । आफ्नो देशका हिजोका राम्रा दिन र आजका नराम्रा दिनका तुलना गरेर भावुक हुन्छन् । पोल्यान्ड, रूस, रुमानिया, चेकोस्लोभाकिया, जर्मनी, यमन, हङ्गेरी जस्ता मुलुकका नेताहरूका कुरा सुन्दा त्यहाँ कम्युनिष्ट पार्टी फेरि बौरिएला भन्नेमा उनीहरू नै पनि कम आशावादी छन् ।आज कतिपय त्यस्ता देशहरूमा कम्युनिष्ट पार्टीहरूमाथि प्रतिबन्ध समेत छ ।

कम्युनिष्टहरूले विचारको विविधता मान्दैनन्, अधिनायकवादी हुन्छन् भनिन्छ । तर, व्यवहारमा हेर्दा कम्युनिष्टहरूलाई जति दमन कमैमाथि भएको होला । अहिले पूर्वसमाजवादी मुलुकका कम्युनिष्टहरूले भोगिरहेका दुःख, पीडा र संघर्षका कथा सुन्दा उनीहरूमाथिको दमन स्पष्ट हुन्छ ।

चुनावबाट सत्तामा जाने पार्टी
अहिले विश्वका अधिकांश कम्युनिष्टहरूले चुनावमा भाग लिन्छन् । पूर्वसोभियत संघ र युरोपका सबै कम्युनिष्ट पार्टी चुनाव लडिरहेका छन् । तर, तिनीहरूलाई अपेक्षित सफलता मिलेको छैन । भएको जनमत पनि घटिरहेको छ । नेपाल मात्र एउटा त्यस्तो मुलुक बनेको छ, जहाँ निर्वाचनबाट कम्युनिष्ट पार्टी सत्तामा पुगेको छ ।

विश्वमा नै पहिलो पटक भारतीय कम्युनिष्ट पार्टीले निर्वाचनबाट सफलता पाएको थियो । तर, त्यो देशको नभई प्रान्तीय सरकार थियो । सन् १९५७ मा भारतको केरलामा ईएमएस नम्बुदिरीपादको नेतृत्वमा प्रान्तीय सरकार बनेको थियो । अहिले भने त्यहाँ कम्युनिष्ट पार्टी नाजुक अवस्थामा छन् । एउटा प्रान्तमा मात्र कम्युनिष्ट सरकार छ ।

भेनेजुएला, निकारागुआ, बोलिभिया जस्ता ल्याटिन अमेरिकी देशहरूमा भने वाम रुझान राख्ने सरकार भए पनि तिनीहरू कम्युनिष्ट होइनन् । सन् १९९० को झट्कापछि कम्युनिष्टहरूले सान मारिनो, मोल्दोभो, गुयना र साइप्रसमा पनि सरकार बनाएका छन् ।

त्यस्ता पार्टीले अन्तर्राष्ट्रिय फोरमहरूमा बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नेमा जोड दिने गरेका छन् । बहुदलीय प्रतिस्पर्धा, बहुलतायुक्त खुला समाज, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, आवधिक निर्वाचन जस्ता विषयमा वकालत गर्छन् । तथापि, यस्तो विचार राख्ने पार्टीलाई कतिपय कम्युनिष्ट पार्टीले त्यही मञ्चबाट संशोधनवादीको आरोप पनि लगाउँछन् ।

सशस्त्र संघर्षप्रेमी पार्टी
कम्युनिष्टहरू सिद्धान्ततः सशस्त्र संघर्षका पक्षपाती हुन्छन् । जतिवेला कम्युनिष्टहरू शक्तिशाली बन्दै आएका थिए, त्यतिवेलाको परिस्थिति पनि सशस्त्र संघर्षका लागि अनुकूल थियो । किनभने, विश्वका धेरै मुलुक विदेशीका उपनिवेश थिए । उपनिवेश नभएका देशभित्र निरंकुश शासकहरू थिए ।

तर, आज समय बदलिसक्दा पनि कतिपय कम्युनिष्टहरू हिजोकै मानसिकतामा छन् । उपनिवेश समाप्त भएको छ, मुलुकहरूले स्वतन्त्रता प्राप्त गरिसकेका छन्, बहुदलीय प्रणालीमा काम गर्न सक्ने अवस्था छ । आज हतियारै उठाएर संघर्ष गर्नुपर्ने धारणाले फाइदाभन्दा बढी क्षति भइरहेको छ ।

सशस्त्र संघर्षबाट कुनै वेला दबाब कायम गरेका फिलिपिन्स, म्यान्मार, थाइल्यान्ड आदि देशका कम्युनिष्ट पार्टी आज इतिहास भइसकेका छन् । अन्तिम पटक कम्युनिष्टहरूले सन् १९७५ मा लाओसमा सशस्त्र क्रान्तिबाट सत्ता कब्जा गरेका थिए ।

आईएमसीडब्लुपी वैधानिक कम्युनिष्ट पार्टीहरूको साझ मञ्च भएका कारण सशस्त्र संघर्षमा रहेका पार्टीहरू यस मञ्चमा छैनन् । तर, सशस्त्र संघर्षको वकालत गर्ने पार्टीहरू भने आबद्ध छन् ।

चुनावमा भाग लिने, सरकार वा विपक्षमा रहने र सशस्त्र संघर्षका पक्षमा वकालत नगर्ने पार्टीलाई संशोधनवादी भन्ने प्रवृत्ति यस खालका कम्युनिष्टमा छ । यसपटकको भेटघाटका क्रममा पाकिस्तानी कम्युनिष्ट पार्टीका प्रतिनिधि मोहम्मद शादिकले पंक्तिकारसँग नेपाल कम्युनिष्ट पार्टीका बारेमा यस्तै जिद्दी गरे ।

उनी आफू ग्रीसमा बस्छन्, पाकिस्तानमा सम्भवतः कम्युनिष्ट पार्टीको बोर्ड पनि छैन होला । ल्याटिन अमेरिकामा पनि यस्ता कम्युनिष्ट पार्टीको संख्या धेरै छ ।

न संघर्ष, न चुनावमा जाने पार्टी
एकथरी यस्ता कम्युनिष्ट पार्टी पनि छन्, जो शान्तिपूर्ण राजनीतिमा सहभागी भएर जनताबीच पनि जाँदैनन्, सशस्त्र संघर्ष गर्छौं भनेर बन्दूक उठाउन पनि सक्दैनन् । तर, यी पार्टी अन्य कम्युनिष्टहरूको विरोध गर्न भने छाड्दैनन् ।

आज समय बदलिसक्दा पनि कतिपय कम्युनिष्टहरू हिजोकै मानसिकतामा छन् । उपनिवेश समाप्त भएको छ, मुलुकहरूले स्वतन्त्रता प्राप्त गरिसकेका छन्, बहुदलीय प्रणालीमा काम गर्न सक्ने अवस्था छ । आज हतियारै उठाएर संघर्ष गर्नुपर्ने धारणाले फाइदाभन्दा बढी क्षति भइरहेको छ ।

वास्तवमा उनीहरू आफैं सैद्धान्तिक रूपमा अलमलमा छन् । उदाहरणका लागि नेपालका मोहनविक्रम सिंह र मोहन वैद्यका जस्ता पार्टीहरू अन्यत्र पनि छन् । सारमा आफूू, परिवारका सदस्य र केही सीमित आफन्त रहेको केन्द्रीय समिति बनाउने र त्यसैका नाममा राजनीति गर्ने पार्टी बाङ्लादेश, श्रीलङ्का, पूर्वी यूरोप र ल्याटिन अमेरिकाका केही देशमा छन् ।

नेकपाका दुई सन्देश
आईएमसीडब्लुपीको कार्यकारी समूहको सदस्य रहेको नेकपाले यस मञ्चमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । यसपटक नेकपाले दुईवटा सन्देश दिएको छ ।

पहिलो, निर्वाचनबाट सफलता पाउन सकिन्छ । जनताका बीचमा जाने र उनीहरूको भावनालाई प्रतिबिम्बित गर्न सक्ने हो भने सोभियत संघ ढल्नु वा बर्लिन पर्खाल नरहनुसँग जनताको सरोकार हुँदैन ।

बहुमत पाउँँदा सरकारमा जाने, नपाउँदा प्रतिपक्षमा रहेर जनताका आवाज मुखरित गर्ने प्रणालीबाटै पार्टीलाई दीर्घायु, लोकप्रिय र प्रभावकारी बनाउन सकिन्छ । नेकपाले गरेको अभ्यास र पाएको सफलताबाट विश्वका अरू कम्युनिष्ट पार्टीले पनि शिक्षा लिन सक्छन् ।

दोस्रो, सैद्धान्तिक मतभेदहरू पर्गेलेर कम्युनिष्टहरू मिल्न सक्छन् । सानोभन्दा सानो देशमा पनि धेरै वटा कम्युनिष्ट पार्टी अस्तित्वमा छन् । यतिसम्म कि स्पेन जस्तो कम्युनिष्टहरू नगण्य भएको मुलुकमा तीन, बाङ्लादेशमा चार, श्रीलङ्कामा पाँच, भारतमा सात, रूसमा पाँचवटा कम्युनिष्ट पार्टी छन् ।

पक्कै पनि तिनीहरूबीच सशस्त्र संघर्ष गर्ने कि शान्तिपूर्ण आन्दोलन भन्ने विवाद छ । कतिसम्म भने कार्यक्रम आयोजनास्थल ग्रान्ड अन्टुर होटलमा एउटै टेबुुलमा बसिरहेका भारतीय कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख पल्लव सेन गुप्ता र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का विदेश विभाग प्रमुख एमए बेबीबीच भाकपाको स्थापना सन् १९२० मा तासकन्दमा भएको हो वा सन् १९२५ मा भारतमै भएको हो भन्नेमा विवाद चल्दैथियो ।

भारतमा सन् १९६४ मा कम्युनिष्ट पार्टी विभाजनको एउटा प्रमुख विवाद नै यही थियो । नेपालमा पनि त्यस्तो विवाद नभएको होइन । तर, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले असहमति भन्दा सहमतिका बुँदाहरू पहिल्याएर डेढ वर्षअघि पार्टी एकता गरे ।

विश्वका अरू कम्युनिष्टहरूका लागि यो एउटा गतिलो सन्देश हो । एकताबारे विभिन्न देशका कम्युनिष्ट पार्टीहरूले जिज्ञासा पनि राखेका थिए ।

हिमालखबर: विश्वका कम्युनिष्ट र नेपालको सन्देश