सरकार, लक्की शेर्पालाई बर्खास्त गर !


December 12, 2018 10:39 am

अस्ट्रेलियाका लागि नेपाली राजदूत पदमा कार्यरत लक्की शेर्पाका कारण यतिबेला नेपालको कूटनीतिक क्षेत्र चर्चामा छ । सहयोगीका रूपमा अस्ट्रेलिया लगिएका वांछु शेर्पाले उनीमाथि मानव तस्करीको अभियोग लगाएपछि उनी काठमाडौं झिकाइएकी छन् र परराष्ट्र« मन्त्रालयले छानबिन गरिरहेको बताएको छ । छानबिनको परिणाम जस्तोसुकै आउला, सन् १९३४ मा नेपालले राजदूत नियुक्त गर्न थालेयता बहालवाला राजदूतमाथि मानव तस्करी जस्तो संगीन आरोप लागेको थिएन । तर उनका कारण हाम्रो कूटनीतिक छविमै कालो दाग लागेको छ ।

अस्ट्रेलियामा मात्र होइन, नेपालसँग सम्बन्धित कूटनीतिक क्षेत्रमा अहिले यही कुराले चर्चा पाइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका छवि उच्च बनाउन प्रयास गरिरहेका बेला लक्की शेर्पा दाँतमा ढुंगा बनेर प्रकट भएकी छन् । पछिल्ला दिनमा नेपालका लागि महत्त्वपूर्ण बन्दै गएको र नेपालीहरूको उपस्थिति बाक्लिँदै गएको अस्ट्रेलियासँगको सम्बन्धमा पनि यस प्रकरणले नराम्रोसँग दरार ल्याइदिएको छ ।

हालै भेट भएका एकजना नेपाली कूटनीतिज्ञले यस प्रकरणले आफूहरूको अनुहार रातो भएको चर्चा गर्दै व्यक्त गरेको दिक्दारी उनको मात्र निजी थिएन । उनी र उनीजस्तै नेपाली कूटनीतिकर्मीहरूमा चिन्ता थपिएको छ, हामीलाई यस्तैयस्तै कारणले अरुले सम्झिने भए । यस्तो लाजमर्दो स्थिति अरुका कारण नभई राजदूत जस्तो ओहोदामा कार्यरत व्यक्तिबाट भएको छ ।

लामो कूटनीतिक अभ्यासका क्रममा राजदूतले गरेका गल्तीका कारण उनीहरू तत्कालै बर्खास्त भएका घटना नेपालमा नभएका होइनन् । पञ्चायतकालमा अमेरिकाका लागि नेपाली राजदूत रहेका बेला विश्व प्रधानमाथि पुस्तक चोरीको आरोप लाग्यो र उनी तत्कालै बर्खास्त भए । बहुदल आएपछि राजनीतिक कारणले राजदूतहरू फिर्ता बोलाइने प्रचलन त सामान्य जस्तै बनिसकेको छ, साथै अभियोग लागेर बर्खास्त भएका पनि दुईवटा घटना छन् ।

पृष्ठभूमि, योग्यता र क्षमतालाई भन्दा चाकडी र निकटतालाई महत्त्व दिइने भएकाले त्यसरी राजदूत नियुक्त भएका व्यक्तिहरू प्रायः कार्यक्षेत्रमा अयोग्य साबित हुँदै आएका छन् ।
कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले कतार खुल्ला जेल हो भनेर बोलेवापत बर्खास्त हुनुपरेको थियो भने साउदी अरेबियाका लागि नेपाली राजदूत हमिद अन्सारीले चाहिँ पीडितका पैसा आफ्नो खातामा राखेको भेटिएपछि बर्खास्त मात्र हुनु परेन, भ्रष्टाचारको मुद्दा समेत बेहोर्नुपरेको धेरै भएको छैन । कूटनीतिक जस्तो संवेदनशील क्षेत्रमा आरोप मात्रै लाग्नुलाई पनि ठूलो विषयमा रूपमा लिइन्छ । फेरि लक्कीमाथि उनीसँग असम्बन्धित कुनै व्यक्तिले रिसइबीले आरोप लगाएको होइन, आफ्नै सहयोगीले लगाएका छन् ।

कूटनीतिक सेवा बाहिरबाट पनि राजदूत नियुक्त गर्ने चलन नेपालमा मात्र होइन, अन्यत्र पनि छ । हामीकहाँ त यो चलन झन् धेरै छ । तर यसरी चयन गर्दा ती व्यक्तिको पृष्ठभूमि, योग्यता र क्षमतालाई भन्दा चाकडी र निकटतालाई महत्त्व दिइने भएकाले त्यसरी नियुक्त भएका व्यक्तिहरू प्रायः कार्यक्षेत्रमा अयोग्य साबित हुँदै आएका छन् । लक्की शेर्पा एमालेमा रहँदा पनि धेरैका लागि आश्चर्यकी विषय थिइन् । कुनै एक नेता विशेषसँगको सम्बन्धका कारण मानिसको कसरी उत्थान हुन्छ भन्ने कुरा उनले पार्टी सदस्य नबन्दै सांसद बनेर देखाइदिएकी थिइन् ।

अघाइसकेपछि त्यही ठाउँमा नटाँसिनु किर्नाहरूको धर्म भएकाले त्यसलाई पालना गर्दै एमाले कमजोर भएपछि उनी माओवादीमा प्रवेश गरेकी थिइन् र आफ्नो असाधारण क्षमताको उपयोग त्यहाँ पनि राम्रैसँग गरेर राजदूत हुन सफल भएकी थिइन् । आज तिनै लक्कीका कारण अस्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूले मात्र होइन, सबैले लज्जित हुनुपरेको छ ।

लक्की शेर्पा प्रकरणलाई सल्ट्याउने एउटै उपाय भनेको उनलाई अविलम्ब बर्खास्त गर्नु र त्यस्ता व्यक्तिलाई फेरि राजदूत नबनाउने योजना बनाउनु हो । उनको विषय मन्त्रिपरिषद्सम्म पनि पुगिसकेकाले सरकारले अवश्य पनि यसमा ध्यान दिने अपेक्षा छ । मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिपर्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका लागि पनि यो परीक्षाको विषय बनेको छ ।

राजदूत पद आफैँमा त्यति ठूला होइन, जति नेपालमा मानिन्छ । तर सरकारले विदेशमा आफ्नो प्रतिनिधि तोक्ने हुँदा त्यसको जिम्मेवारी र संवदेनशीलता ज्यादै ठूलो हुन्छ । उसले गर्ने सामान्य व्यवहारसँग पनि सम्बन्धित देशको प्रतिष्ठा जोडिएको हुन्छ । लक्की शेर्पामाथि त उनकै सहयोगीले आफूसँग पैसा असुल गरेको, अरुलाई पनि विदेश लैजानका लागि पैसा असुल्न अह्राएको र त्यसैका कारण आफ्नी श्रीमती जेल परेको संगीन आरोप लगाएका छन् । यस्तो कुनै बाहिरियाले होइन, उनले आफ्ना सहयोगी भनेर प्रक्रिया पुर्‍याएर अस्ट्रेलिया लगेका व्यक्तिले यस्तो आरोप लगाउनु चानचुने कुरा होइन । यस प्रकरणमा दूताबासको लेटरप्याड र छाप प्रयोग गरेर जारी गरिएको वक्तव्यबाट पनि दालमा कुनै कालो अवश्य छ भन्ने बुझिन्छ ।

लक्की शेर्पा प्रकरणलाई सल्ट्याउने एउटै उपाय भनेको उनलाई अविलम्ब बर्खास्त गर्नु र त्यस्ता व्यक्तिलाई फेरि राजदूत नबनाउने योजना बनाउनु हो ।
सरकारले राजदूत नियुक्ति प्रक्रिया अघि बढाइरहेको छ । हालै मात्र भारत, मलेसिया, युएई र इजरायलका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ र संसदीय समितिबाट तिनको नाम अनुमोदन भइसकेको छ । अरु छ मुलुकका लागि पनि परराष्ट्र मन्त्रालयका सहसचिवहरूमध्येबाट राजदूत नियुक्त गर्ने प्रक्रिया शुरू भएको छ ।

साथै कतिपय राजदूतहरूलाई फिर्ता बोलाएर त्यस ठाउँमा नयाँ पठाउने प्रक्रिया पनि सरकारले शुरु गर्ने तयारी गरेको छ । यस्तो बेलामा सतहमा आएको लक्की शेर्पा प्रकरणले सरकारलाई राम्रो पाठ पढाएको हुनुपर्छ । कस्ता मानिसलाई राजदूत बनाएर पठाउने भन्ने बारेमा लक्की शेर्पा एक उदाहरण बनेकी छन् ।

भनिरहनै परेन, शक्ति केन्द्रको नाभी पत्ता लगाएकी र त्यसैबाट तरक्की गरेकी लक्की शेर्पा यतिबेला काठमाडौंमा शक्ति केन्द्र धाइरहेकी छन् । शक्ति केन्द्रमा रहनुभएका नेताहरूले उनलाई बचाउन पनि सक्नुहोला तर याद गर्नुहोस्, यदि तपार्ईंहरूले त्यस्तो गर्नुभयो भने त्यसले नपालको इज्जत चाहिँ बचाउने छैन । अस्ट्रेलिया रहँदा बस्दासम्म नेपाली सामुदायिक संगठन र तिनका अगुवाहरूलाई खासै मतलब नराख्ने लक्कीले काठमाडौंमा आएर चाहिँ तिनीहरूको सहयोगको समेत याचना गरिरहेको सुन्नमा आएको छ । उनलाई राजदूत बनाउने नेताहरूले पनि सोच्नुपर्छ, उनको कदमले मुलुकको छवि उँचो भयो कि गिर्‍यो ?

लोकान्तर: सरकार, लक्की शेर्पालाई बर्खास्त गर !