एमजे अकबर : एक महसुर सम्पादकको दुःखान्त


November 14, 2018 10:59 am

कतिपय मान्छेहरूप्रति नदेखेरै पनि एक प्रकारको छाप परिरहेको हुन्छ । एमजे अबकर तिनैमध्येका एक थिए, जसको लेखन साह्रै असरदार लाग्ने गरेका कारण मैले पछ्याउने गरेको थिएँ ।

उनको लेखनमा पाइने भारतीय राजनीतिको विश्लेषणले धेरै कुरा बुझ्नमा मद्दत गर्ने भएका कारण म उनलाई पछ्याइरहन्थें । पछिल्लो कालमा राजनीतिमा सक्रिय भएर पत्रकारिता छाडेका उनलाई यतिबेला चाहिँ राजनीतिले पनि छाडेको छ भन्दा फरक नपर्ने भएको छ ।

एमजे अकबर महिलामाथिको उत्पीडन र दूराचारका विरुद्ध गत वर्ष अमेरिकाबाट शुरू भएको #मी टू अभियान भारतमा आइपुग्दा त्यसको शिकार भएका छन् ।

शुरूमा प्रिया रमनी नामक पत्रकारले उनले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदा एकजे भारतमा थिएनन् ।

विदेश राज्यमन्त्रीका रूपमा अफ्रिका भ्रमण रहेकै बेला एमजेमाथि एकजना महिलाले आरोप लगाउँदा धेरैले गम्भीरतापूर्वक लिएनन् । स्वदेश फर्किनासाथ प्रिया रमनीमाथि मानहानीको मुद्दा दायर गरेका एमजेमाथि आरोप लगाउने उनी एक्ली थिइनन् ।

एक जनाले त रिसइबी, प्रतिशोध वा अरु कुनै कारणले पनि आरोप लगाउन सक्छ भन्ने लख काटिएकै बेला उनका विरुद्ध एकपछि अर्को आरोप लाग्यो र त्यो संख्या संख्या २० पुगेको छ ।

अन्ततः एमजेले भारतको विदेश राज्यमन्त्रीबाट राजीनामा दिएका छन् ।

हाल अमेरिकामा काम गरिरहेकी पत्रकार पल्लवी गोगोई त एसियान एजमा काम गर्दा सन् १९९० को दशकमा एमजेले आफूमाथि महिनौँसम्म बलात्कार गरेको आरोप लगाउँदै वाशिंगटन पोस्टमा विस्तृत विवरण प्रकाशित गरेकी छन् ।

एमजेले सहमतिमा यौन सम्पर्क भएको स्वीकार गर्दै त्यसले परिवारमा समेत समस्या परेपछि केही महिनामा भंग भएको सार्वजनिक वक्तव्य दिएका छन्, जसको पल्लवीले खण्डन गर्दै पदीय हैसियतको दुरूपयोग गरेर एमजेले आफूमाथि बलात्कार गरेको दोहोर्‍याएकी छन् ।

एक जनाले त रिसइबी, प्रतिशोध वा अरु कुनै कारणले पनि आरोप लगाउन सक्छ भन्ने लख काटिएकै बेला उनका विरुद्ध एकपछि अर्को आरोप लाग्यो र त्यो संख्या संख्या २० पुगेको छ ।
एमजे अकबर भारतका थोरै शक्तिशाली सम्पादक र लेखकमध्ये गनिन्छन् । एमजेले सम्पादकीय नेतृत्व गर्दा इन्डिया टुडेले हासिल गरेको प्रतिष्ठा, एसियन एज दैनिकको स्थापना, टेलिग्राफको शक्ति, सन्डे र द सन्डेको प्रभाव जस्ता कुराले एमजेलाई आफ्ना समकालीनहरूबीच उँचो बनाएकोमा एकमत छ । लेखनमा असाधारण शक्ति भएका एमजे यही क्षेत्रमा अड्न सकेनन् र राजनीतिमा जोडिए ।

एमजे इन्दिरा गान्धीसँग राम्रो सम्बन्ध भएका सम्पादक मानिन्थे । तर, सन् १९७५ मा उनले लगाएको संकटकालको विरोध गर्नेमा उनको सम्पादनमा प्रकाशित आनन्द बजार पत्रिका (एबीपी) ग्रुपको सन्डे पहिलो श्रेणीमा पर्दथ्यो ।

सन् १९८९ मा लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा उनी कांग्रेस प्रवेश गरे र विहारबाट लोकसभा सदस्य निर्वाचित भए । त्यतिबेला उनी कांग्रेस आईका प्रवक्ताका रूपमा चर्चित थिए भने राजीव गान्धीका लागि नभई नहुने सहयोगीको स्थान बनाइसकेका थिए । दुई वर्षमै सन् १९९१ मा भएको निर्वाचनमा चाहिँ उनी चुनिन सकेनन् र फेरि पत्रकारितामा फर्किए ।

सन् २०१४ को लोकसभा निर्वाचनको मुखमा एमजेले भारतीय जनता पार्टी (भाजपा) रोजे र त्यहाँ पनि प्रवक्ताकै जिम्मा पाए । हिन्दू अतिवादको आरोप खेपिरहेको भाजपालाई एमजे जस्तो चिनिएको मुस्लिम अनुहारको सख्त आवश्यकता थियो र उनले एक वर्षभित्रै राज्यसभा सदस्य बन्ने मौका समेत पाए ।

भाजपामा उनको यात्रा त्यतिमा रोकिएन । एक वर्षपछि उनी विदेश राज्यमन्त्री बनाइए । विदेशमन्त्री सुष्मा स्वराज र राज्यमन्त्री जनरल भीके सिंहका साथ एमजेको यात्रा विश्वमा मोदीले देखाउन खोजेको मुस्लिम अनुहार थियो भन्नेमा कुनै शंका छैन । तर, अहिले तिनै एमजेले मोदी र भाजपालाई अप्ठेरोमा पारिदिएका छन् ।

मी टू अभियानका पक्षमा मात्र होइन, विपक्षमा पनि बलिया तर्कहरू छन् । ‘मन मिल्दासम्म वी टू, नमिले पनि #मी टू’ भनियो भन्दै आलोचनाहरू भइरहेका छन् ।

यति हुँदाहुँदै पनि तथ्य के हो भने आफूलाई मर्का नपरी कुनै पनि महिलाले अर्को पुरुषमाथि आरोप लगाउँदैन । कार्यस्थलमा महिलाहरूमाथि हुने दुर्व्यवहार कम गर्नका लागि #मी टूले तताएको माहौलले धेरै काम गरेको छ ।

भारतमा चुनावको मुखमा शुरू भएको यस अभियानले अरु क-कसलाई पोल्ने हो भने त्रास धेरै भए पनि अहिलेसम्म नेताहरू चाहिँ बचेका छन् ।

सत्तामा आएपछि नरेन्द्र मोदीले ‘बेटी बचाओ, बेटी पढाओ’को लोकप्रिय नारा अघि सारेका छन् । भारतमा गर्भमै मारिने छोरीहरूको संख्या दैनिक हजारौँ छ, बलात्कारमा यो मुलुकको नाम विश्वकै खराब मुलुकहरूको सूचीमा छ ।

त्यही भएर आममानिसलाई सचेत पार्न उनले त्यो आकर्षक नारा अघि सारेका छन् । तर, त्यति माथिल्लो स्तरका सरकारी अधिकारी नै यौन प्रकरणमा मुछिँदा भाजपालाई झड्का लागेको छ । यतिसम्म कि विदेशमन्त्री सुष्मा स्वराजले समेत यसमा कुनै प्रतिक्रिया दिन सकिनन् । भाजपाका कुनै पनि नेताले यसमा मुख नखोल्नुले उनीहरूलाई कति समस्या परेको रहेछ भनेर बुझ्न सकिन्छ ।

महिलामाथि बलात्कार, हिंसा र दुर्व्यवहार बढी जस्तो शक्तिका आडमा हुने गर्दछन् । पुरुषसत्ता छँदैछ, राजकीय सत्ता पनि त्यसका लागि बढी जिम्मेदार रहँदै आएको छ ।

शक्तिका आडमा त्यस्ता अपराधका घटनाहरू लुकाउने, मिलाउने र पीडितलाई नै धम्क्याएर चुप लाग्न बाध्य बनाउने चलन भारतमा धेरै छ । दिनदिनै त्यहाँ कुनै न कुनै किसिमका यस्ता समाचार सार्वजनिक भइरहकै हुन्छन् ।

सत्तामा भएका व्यक्तिहरू यसमा बढी संलग्न भएको पाउन थालिएपछि विपक्षी कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको नाराप्रति ब्यंग्य गर्दै भनेका छन्, ‘बीजेपीका लोग से बेटी बचाओ ।’

भारतमा नायिक तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले फिल्म सुटिङका क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै भारतमा मी टू अभियाको शुरूआत गरेपछि त्यसको एम्बुसमा पर्नेहरूको संख्या बढ्दै गएको छ ।

खासगरी, चलचित्र क्षेत्र र पत्रकारितामा महिलामाथि बढी शोषण, उत्पीडन र दुर्व्यवहार हुँदोरहेछ भन्ने कुरा यस प्रकरणले प्रमाणित गरेको छ ।

मी टूको पहिलो झट्का नेपालमा जन्मेर र नेपाली नागरिकता नै बोकेर दिल्लीमा बसेर नेपालका विरुद्ध निरन्तर लेख्दै आएका प्रशान्त झालाई लागेको थियो । हिन्दुस्तान टाइम्सका राजनीतिक सम्पादक रहेर नेपालले घुँडा नटेकुञ्जेल भारतले नाकाबन्दी लगाइरनुपर्थ्यो, खोल्नु हुँदैनथ्यो भन्दै खुलेआम लेख्ने पत्रकार झाले सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिएका छन् ।

भारतमा नायिक तनुश्री दत्ताले अभिनेता नाना पाटेकरले फिल्म सुटिङका क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै भारतमा #मी टू अभियाको शुरूआत गरेपछि त्यसको एम्बुसमा पर्नेहरूको संख्या बढ्दै गएको छ ।
केही दिनअघि सन्दर्भबस भेट भएका एकजना भारतीय कुटनीतिज्ञले एमजेका बारेमा जे बताए, त्यसले उनका बारेमा समाचार बाहिर मात्र नआएको रहेछ, भित्रभित्रै सबैलाई थाहा रहेछ भन्ने अनुभव भएको थियो ।

‘यी मानिस विदेश मन्त्रालयमा कसरी भित्रिए भन्ने नै हामीलाई अचम्म लागेको थियो’, उनले भनेका थिए, ‘त्यसपछि अर्को अचम्म, करिब डेढ बर्ष कसरी टिके भन्ने परेको छ ।’ उनको मतलब, महिलाका बारेमा यिनीमाथि भारतीय विदेश मन्त्रालयमा पनि निगरानी रहेछ ।

एमजे अकबरका बारेमा मैले लेख्न चाहेको उनको राजनीतिक जीवनका कारणले होइन ।

व्यक्तित्व बनाउन कति कठिन हुन्छ ! तर, ढल्न चाहिँ एउटै ट्वीट काफी हुन्छ भन्ने पछिल्लो उदाहरण एमजे अकबर बनेका छन् ।

पश्चिम बंगालको एउटा गाउँमा ६७ वर्षअघि मोबासार जावेद अकबरका रूपमा जन्मिएका उनले आफ्नो क्षमतामा उभिएर आफूलाई एमजे अकबरका रूपमा संसारभर चिनाए । तर, उनी ढल्दा यति गल्र्यामगुर्लुम भए, आफ्नै समकालीनहरूलाई पनि कठै भन्ने ठाउँ बाँकी राखेनन् ।

लोकान्तर: एमजे अकबर : एक महसुर सम्पादकको दुःखान्त