अधुरो संविधानसभाको पूरा विवरण


August 23, 2017 1:52 pm
अधुरो संविधानसभाको पूरा विवरण

धेरैलाई लागेको थिएन– आधा शताब्दीदेखि नेपाली जनताले आवाज उठाएको संविधानसभाले दोब्बर आयु पार गरेर पनि संविधान जारी नगरी बिदा होला । तर, दुनिया“लाई आश्चर्यचकित पार्दै पहिलो संविधानसभा (२०६५–०६९) को अवसान भयो । यसको आरम्भदेखि अन्त्यसम्मको सम्पूर्ण कथालाई पत्रकार राजेन्द्र फुयालले आफ्नो पुस्तक ‘संविधानसभा ः निर्वाचनदेखि अवसानसम्म’ मा समेटेका छन् । संविधानसभाका सदस्यभन्दा पनि नियमितरूपमा संसद्का बैठकलाई नजिकबाट हेर्दै रिपोर्टिङ गर्ने पत्रकार भएका कारण फुयालको पुस्तकमा अधुरो संविधानसभाका कुनै पनि महŒवपूर्ण कामकारबाहीहरू छुटेका छैनन् । पुस्तक बढी सान्दर्भिक यस अर्थमा पनि छ, पुस्तकमा समाविष्ट कुरा सैद्धान्तिक वा आफूलाई लागेका विषयमा मात्र सीमित छैनन् । ती त अनेकौ“पटक देखेका, भोगेका, छलफल भएका, विवादमा परेका र आधिकारिक अभिलेखमा अङ्कित भएका छन् ।


उपसंहार र आठवटा अनुुसूचीबाहेक पुस्तक छ परिच्छेदमा विभक्त छ । प्रत्येक परिच्छेदमा अलग–अलग विषयमा तथ्य–तथ्याङ्क, सन्दर्भ सामग्री र बुझिने प्रस्तुतिसहित विषयवस्तु राखिएको छ । पहिलो परिच्छेद– ‘संविधानसभातर्फको गन्तव्य’ मा नेपालमा संविधानसभाको मागदेखि निर्वाचन र समावेशी स्वरूपसमेतका विषयहरू छन् भने दोस्रो– ‘संविधान निर्माणको यात्रा’ मा संविधानसभा गठन भएपछिका प्रक्रियागत विवरणहरू छन् । त्यस्तै, तेस्रो– ‘फुर्सदिला सभासद्’ मा संविधानसभाले काम नपाउ“दाको अवस्था उल्लेख छ भने चौथो– ‘सत्ताको सिकार शान्ति र संविधान’ मा शान्ति र संविधानभन्दा सरकारमा केन्द्रित हु“दाको प्रतिफलको चर्चा छ । पा“चौ“– ‘सौदाबाजीमा संविधानसभा’ मा म्याद थपको कथादेखि सभासद्का काण्डहरू छन् भने छैटौ“– ‘असफल संविधानसभा’ मा त्यसभित्र भएका सहमति–असहमति, संविधानसभा असफल हुनुका बाह्य र आन्तरिक कारणलगायतको चर्चा छ ।


लेखक फुयालले उपसंहारमा निष्कर्ष निकालेझैं संसद्को पनि काम गर्ने संविधानसभा बा“की रहेमा आफ्नो सरकारविरुद्ध तत्काल अविश्वास प्रस्ताव आउने डरले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले वैकल्पिक व्यवस्था नगरी संविधानसभाको अवसान गराएका थिए । नेकपा (एमाले) का दुई नेता– माधवकुमार नेपाल र झलनाथ खनालले संविधानसभाको म्याद थप्न अनुचितरूपमा राखिएको राजीनामाको मागसमेत स्वीकार गर्दै संविधानसभा सामु पदलाई तिलाञ्जली दिए भने आफूलाई संविधानसभाको मसिहा ठान्ने एमाओवादीका नेता भट्टराईले आफ्नो पद जोगाउनका लागि संविधानसभाकै अवसान गराए । भन्नलाई म्याद नथप्ने सर्वोच्च अदालतको आदेश थियो भन्न सकिएला । तर, कुनै न कुनै रूपमा संसद्लाई कायम राख्न सक्ने सम्भावना चाहि“ हु“दै नभएको होइन ।


सत्ताको हानथाप, दाउपेच र जोड–घटाउका कारण ऐतिहासिक संविधानसभा नेपाली जनतालाई ३ अर्ब ३ करोड ४४ लाख ७१ हजार २ सय ७८ रुपिया“ ३९ पैसा व्ययभार बोकेर बिदा भएको तस्बिर लेखकले पुस्तकमा राखेका छन् । यसबाहेक यूएन, यूएनडीपी, यूएसआईडी, एसडीसी, ईयू, सीडा, जीटीजेड जस्ता विदेश संस्थाहरूले गरेको अर्बौं–अर्बको हिसाब त अलग्गै छ । जातीय मुद्दालाई उचाल्नका लागि भएका प्रयास र त्यसका प्रभावहरूका बारेमा पनि पुस्तकमा उल्लेख छ ।


पुस्तकमा लेखकले तथ्यमा बढी जोड दिएका छन् र आवश्यक ठाउ“मा थोरै मात्र विश्लेषण गरेर थप विश्लेषणका लागि पाठकहरूलाई नै जिम्मा छोडिदिएका छन् । यसबाट एकातिर पुस्तक बोझिलो हुनबाट जोगिएको छ भने अर्कातिर तुलनात्मकरूपमा तटस्थता कायम गर्न पनि सफल भएको छ । कुनै पनि पक्षबाट प्रभावित नभई देखेका कुरा त्यही रूपमा पस्केर लेखक फुयालले पुस्तकलाई संविधानसभाको साझा सम्पत्ति बनाएका छन् । हुन त संविधानसभा सचिवालय स्वयम्ले त्यस संविधानसभामा के कति काम भए, कति भएनन् भन्नेबारेमा अलग्गै पुस्तक ‘संविधानसभा दर्पण (२०६५–२०६९)’ निकालेको छ । तर, अरू पुस्तकभन्दा ‘संविधानसभा ः निर्वाचनदेखि अवसानसम्म’ पुस्तकको विशेषता भनेकै पत्रकारितामा खारिएको छरितो भाषा, आवश्यक ठाउ“मा आवश्यक तथ्य, ठीक प्रकारका सन्दर्भ सामग्री र विषयस“ग सम्बन्धित व्यक्तिको भनाइ रहनु हो ।


विगतका असफलता हेर्न र त्यसबाट सिक्नका लागि पुस्तकले ऐनाको काम गरेको छ । सुरुदेखि नै कार्यतालिका मिच्दै जाने क्रम कसरी सुरु भयो र त्यसको सिकार संविधानसभा कसरी भयो भन्नेबारेमा लेखकले उल्लेख गरेका सिलसिलेवार घटनाक्रमहरू अहिलेका लागि ध्यानमा राख्न उत्तिकै आवश्यक छन् । साथै, अघिल्लो संविधानसभामा सहमति र असहमति हेर्दा झन्डै–झन्डै संविधान बनिसकेको रहेछ भन्ने जस्तो पनि देखिन्छ । तर, शासकीय स्वरूप र संघीय स्वरूपका बारेमा प्रमुख दलबीच सहमति नबन्दा जनताको आकाङ्क्षामा तुषारापात गर्दै संविधानसभा बिदा भएको तीतो यथार्थलाई ध्यानमा राखी यसपटक समयमै ती विषयमा सहमति गर्न पुस्तकले झकझक्याएको छ । पुस्तकको अन्तिममा राखिएका आठ अनुसूचीले दलहरूबीचको सहमतिलाई एकै ठाउ“मा ल्याएको छ । संविधान निर्माणका लागि दोस्रोपटक गठित संविधानसभाका सदस्यहरूका लागि अनिवार्य सन्दर्भ सामग्री जस्तै रहेको यो पुस्तक राजनीति, अनुसन्धान, संविधान निर्माण, कानुनजस्ता विषयमा जिज्ञासा राख्ने आम पाठकका लागि पठनीय र सङ्ग्रहणीय छ ।


संविधानसभा ः निर्वाचनदेखि अवसानसम्म
लेखक ः राजेन्द्र फुयाल
पृष्ठ ः ३२०
मूल्य ः रु. ३७५÷–
प्रकाशक ः साङ्ग्रिला बुक्स
नवयुग भदौ २०७१